एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा
वि.सं.२०७८ भदौ १८ शुक्रवार २०:४५
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले रातोपाटीलाई जानकारी दिए ।
एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए । केही दिनअघि गौतमले रातोपाटीमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।
गौतमले एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन् । उनले भनेका छन्, ‘तपाईं नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन ।
नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रलाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नुभएन । तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्चका संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’
वि.सं.२०७८ भदौ १८ शुक्रवार २०:४५