सडक विस्तारविरुद्ध हेटौँडाका घरधनी र व्यवसायी आन्दोलित
वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९

मकवानपुर-राजमार्ग विस्तारका क्रममा घर तथा व्यावसायिक संरचना भत्काउने सरकारी तयारी तीव्र बनेसँगै हेटौँडा बजार बुधबार पूर्ण रूपमा आन्दोलित देखिएको छ। घरधनी तथा व्यवसायीहरूले बिहानैदेखि बुद्धचोकमा भेला भएर दिनभर प्रदर्शन गरेका छन्।
उनीहरूले सडक डिभिजन कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउँदै मुआब्जाविना घर भत्काउने सरकारको निर्णयविरुद्ध कडा आपत्ति जनाए।
आन्दोलनमा सहभागी घरधनीहरूले आफ्ना लालपूर्जा र सरकारी दाबीमध्ये कुनै फरक नरहेको दाबी गर्दै विगतदेखि नै कर तिरेर अनुमतिपत्र लिएर बनाइएका घरहरूलाई मुआब्जाबिना भत्काउने प्रयास अन्यायपूर्ण भएको बताए। हेटौँडाको चौकिटोल–रातोमाटेदेखि थानाभ्याङ र बजार क्षेत्रसम्मका घरधनी तथा व्यवसायीहरू पसल पूर्ण रूपमा बन्द गरी विरोध कार्यक्रममा सहभागी भएका थिए।
सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुर अहिले राजमार्ग विस्तार अभियानलाई प्राथमिकताका साथ अघि बढाउने अडानमा छन्। पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिकाभित्रका दुई खण्डलाई स्तरोन्नति गर्दै दायाँ–बायाँ २५–२५ गज सीमाभित्र पर्ने संरचना हटाउने सरकारी तयारी छ। मंसिर २० गतेदेखि नै संरचना भत्काउने कार्य सुरु गर्ने बताइएका कारण घरधनी तथा व्यवसायीहरू दिनहुँ आन्दोलित हुँदै आएका हुन्।
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा अवरोध पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि कारबाही गर्ने चेतावनी दिँदै बुधबार सूचना जारी गरेको छ। प्रशासनका अनुसार धेरैजसो व्यवसायीहरूले सामान बिक्रीका लागि ‘सेल’ अफर राखेर पसल खाली गर्न थाले पनि केही घरधनीले प्रतिकार गर्ने चेतावनी दिएका छन्।
वि.सं.२०८२ मंसिर १७ बुधवार १८:४९
















