गौरीशंकर क्याम्पस प्रमुख श्रेष्ठलाई पितृ शोक ! ७५ वर्षिय चन्द्रबहादुरको मोटरसाईकलको ठक्करबाट निधन
वि.सं.२०८३ भदौ ३ बुधवार १०:००

बारा-बाराको निजगढ–९ स्थित गौरीशंकर क्याम्पसका प्रमुख दिपक श्रेष्ठलाई पितृ शोक परेको छ । उनका पिता चन्द्रबहादुर श्रेष्ठको मोटरसाईकलको ठक्करबाट निधन भएको छ ।
बाराको निजगढ नगरपालिका–९ का ७५ वर्षीय श्रेष्ठको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
मंगलबार साँझ साइकल चलाएर घर फर्किँदै गरेका श्रेष्ठलाई चन्द्रनिगाहपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४८ प ५६९३ नम्बरको मोटरसाइकलले चिच्चीटोल चोक नजिक ठक्कर दिएको थियो। दिनभर केराबारीमा काम गरेर बजारबाट घर फर्किने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान २ बजेर २२ मिनेटमा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जका ३१ वर्षीय हसन मियाँ पनि घाइते भएका छन्। उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।
मियाँसँगै मोटरसाइकलमा सवार भारतको सीतामणिका १५ वर्षीय कार्तिक यादवको निजगढ सिटी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ।
मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको गौरीशंकर क्याम्पस निजगढका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

वि.सं.२०८३ भदौ ३ बुधवार १०:००

















