skip this

सातामा दुई दिन बिदा यथावत्, तत्काल परिवर्तनको तयारी छैन : मन्त्री गौतम

12 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं – सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यस्तो जानकारी दिएकी हुन्।

प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आन्तरिक आवश्यकतालाई आधार बनाएर दुई दिने बिदा लागू गरिएको बताइन्।

बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले दुई दिने बिदाको व्यवस्थाले शिक्षा, व्यापार तथा सरकारी सेवामा नकारात्मक असर पारेको दाबी गर्दै यसलाई खारेज गरी पुरानै एक दिन बिदाको व्यवस्था कायम गर्न माग गरेका थिए।

जवाफमा मन्त्री गौतमले तत्कालीन इन्धन आपूर्तिको समस्या र इन्धन खपत घटाउने उद्देश्यसँगै सार्वजनिक प्रशासनलाई थप प्रभावकारी बनाउन २०८२ चैत २३ गतेदेखि दुई दिने बिदा लागू गरिएको स्मरण गराइन् ।

सरकारका अनुसार यस व्यवस्थाले कर्मचारीको कार्य-जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ। बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुने व्यवस्थाले सेवाग्राहीलाई समेत सहज भएको सरकारको दाबी छ।

मन्त्री गौतमले दुई दिने बिदाका कारण आन्तरिक पर्यटकको संख्या बढेको र त्यसले स्थानीय आर्थिक गतिविधिलाई समेत सहयोग पुगेको बताइन्।

यद्यपि सांसदहरूले विद्यार्थीको पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने, सामाजिक तथा शैक्षिक असर पर्न सक्ने र सरकारी सेवामा सुस्तता आउन सक्ने विषय उठाएका थिए ।

सरकारले यी चासोलाई अध्ययनको विषय बनाउने जनाएको छ। तर, हाललाई सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था परिवर्तन गर्ने कुनै गृहकार्य नरहेको मन्त्री गौतमले स्पष्ट पारेकी छन्।

उनले विद्यार्थीको विकासलाई विद्यालयको पाठ्यक्रममा मात्र सीमित नगरी सामाजिक घुलमिल, सिर्जनशीलता र खेलकुदसँग पनि जोडेर हेर्नुपर्ने धारणा राखिन्।

nijgadh-supermart-adz1200-630