निजगढ नगरपालिकाको लापरवाहीले खुल्ला व्यायामशाला बेवारिसे अवस्थामा
व्यायामका लागि राखिएका मेसिनहरू भाँचिएका, केही भाग खसेका र धेरै उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्
वि.सं.२०८२ चैत १ आइतवार १६:४९

निजगढ नगरपालिकाद्वारा निर्माण गरिएको खुल्ला व्यायामशाला मर्मत–सम्भारको अभावमा अहिले बेवारिसे जस्तै अवस्थामा पुगेको छ। स्थानीय बासिन्दाका अनुसार व्यायामशाला सञ्चालनमा आएको करिब दुई वर्षमै विभिन्न उपकरणहरू बिग्रिन थालेका हुन्।
व्यायामका लागि राखिएका मेसिनहरू भाँचिएका, केही भाग खसेका र धेरै उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्। नियमित सरसफाइ र मर्मत नहुँदा संरचना जीर्ण बन्दै गएको देखिन्छ। यसले गर्दा स्वास्थ्य प्रवर्द्धनका लागि निर्माण गरिएको सार्वजनिक संरचना प्रयोगविहीन बन्न पुगेको छ।
स्थानीयवासीहरू भन्छन्, “नगरपालिकाले लाखौँ खर्च गरेर बनाएको संरचना संरक्षण नगर्दा राज्यको लगानी खेर गइरहेको छ।” उनीहरूले सम्बन्धित निकायलाई छिटो मर्मत–सम्भार गरी सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याउन माग गरेका छन्।
यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराइसकिएको भए पनि अहिलेसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ। समयमै ध्यान नदिए संरचना पूर्ण रूपमा काम नलाग्ने अवस्था आउन सक्ने देखिन्छ।
स्वास्थ्यप्रति जनचेतना बढाउन तथा सर्वसाधारणलाई निःशुल्क व्यायाम गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको व्यायामशाला संरक्षणतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिएको छ।
वि.सं.२०८२ चैत १ आइतवार १६:४९
















