मेगा बैंकको कामु सीईओको जिम्मेवारी रविना देशराजलाई
वि.सं.२०७९ वैशाख २ शुक्रवार २१:०७

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।
सीईओ अनुपमा खुञ्जेलीले ४ बर्षे कार्यकाल सकेर विदा लिएपछि बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरिएको हो ।

श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओमा नियुक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।
विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन् ।

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरू गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् ।
वि.सं.२०७९ वैशाख २ शुक्रवार २१:०७

















