घरबाटो सिफारिसमा ‘मनपरि’ गर्दा धमाधम अख्तियारको फन्दामा पर्दै बाराका वडा अध्यक्ष
जीतपुरसिमराका ताराबहादुरपछि पचरौताका कन्हैयालाललाई लाग्यो मुद्दा
वि.सं.२०८० फागुन २४ बिहीवार २२:१०

बारा–घरबाटो सिफारिसमा ‘मनपरि’ गर्दा बाराका जनप्रतिनिधि धमाधम अख्तियारको फन्दामा पर्न थालेका छन् ।
जीतपुरसिमराका ताराबहादुर कार्की घरबाटो सिफारिसमा सेवाग्राहीसँग घुँस मागेपछि पक्राउ परेको तीन महिनापछि अर्का एक जना वडा अध्यक्ष विरुद्ध मुद्दा दायर भएको छ । उनी निलम्बित छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंले पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादव विरुद्ध आरोपपत्र दायर गरेको हो ।
के हो आरोप ?
पचरौता नगरपालिका वडा नं. ४ (साबिक बेलदारी गा.वि.स. वडा नं.४) को कि.नं. १७३ क्षेत्रफल ०–९–५ जग्गामा कुनै पनि कच्ची वा पक्की सडक बाटो नभएको खेतीयोग्य जमिन रहेको भनी गलत सिफारिस गरेपछि अख्यितारले मुद्दा दायर गरेका हुन् ।

पक्की सडकबाटोले छोएको जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जामिन भनी गलत घरबाटो सिफारिस गरी गराई बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व रकम रु.८ लाख ११ हजार ९ सय ५१ छलि गरेको अख्यितारले जनाएको छ ।
जग्गा बिक्रीकर्ता बिध्या यादवले जग्गा बिक्री गर्दा पुँजीगत लाभकर दाखिला गर्नुपर्नेमा निजले घरबाटो सिफारिस लिँदा जग्गालाई कुनैपनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन रहेको भनी वडा कार्यालयमा निबेदन दिई गलत घरबाटो सिफारिस गरी गराई पुँजीगत लाभकर बापत रु.५ लाख ३४ हजार १ सय ८७ बराबरको राजश्व रकम कम तिर्ने मनसायले भूमिसुधार तथा मालपोत कार्यालय बाराले आ.व. २०७९/०८० को लागि निर्धारित गरेको न्यूनतम मूल्याङ्ग नसमेतको उल्लंघन गरी नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएको देखिएको अख्तियारले जनाएको छ ।
उनलाई बिगो रु.५ लाख ३४ हजार १ सय ८७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा ऐ. ऐ. ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय गरी बिगो बमोजिम जरिवाना र बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
जग्गा खरिदकर्ता बृजकिशोर प्रसाद यादव र अवधकिशोर प्रसाद यादवले जग्गा खरिद गर्दा जग्गा खरिद रजिष्टेसन दस्तुरबापतको राजश्व रकम कम तिर्ने मनसायले पक्की सडकले छोएको जग्गालाई बाटो नछोएको खेतीयोग्य जग्गा भन्ने सिफारिस गराई रजिष्टेसन दस्तुरबापत तिर्नुपर्ने रकम रु.२ हजार ७७ हजार ७ सय ६३ बराबरको राजश्व रकम नोक्सानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पु¥याएकोले उनीहरुको हकमा जनही बिगो रु.दुई लाख ७७ हजार सात सय ६३ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा ऐ. ऐ. ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय गरी बिगोबमोजिम जरिवाना र बिगोसमेत जफत हुन मागदावी लिई विहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
घर बाटो सिफारिसका लागि १५ लाख घुस लिएको आरोपमा बनेपाका अध्यक्ष बादे पक्राउ
वि.सं.२०८० फागुन २४ बिहीवार २२:१०

















