बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजे

वि.सं.२०७८ भदौ १८ शुक्रवार ०७:०६

काठमाडौं : एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ ।
विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ । कप्तान माटियास काइटले गोल गर्दै खेलको सुरुवातमा नै एस्टोनियालाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
तर हान्स भान्केनले गोल गर्दै विश्वको नम्बर एक टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए ।
९९ खेलमा लुकाकुले बेल्जियमका लागि ६६ गोल गरिसकेका छन् । त्यसपछि बेल्जियमका लागि एलेक्स विटसेल र थोमस फोकेटले एक–एक गोल थपे भने खेलको अन्त्यतिर एरिक सोर्गाले एस्टोनियाका लागि सान्त्वना गोल गरे । समूहमा चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ भने २ खेल मात्र खेलेको वेल्स तेस्रो स्थानमा छ ।
उता, युरो २०२० विजेता इटालीले भने आफ्नो घरेलु मैदानमा बुल्गेरियासँग निराश बराबरी खेलेको छ । फेडेरिको किएसाले रोबर्टो मान्चिनीको टोलीलाई अग्रता दिलाए पनि एटानास इलेभले बराबरी गोल फर्काएका थिए । खेलमा इटालीले २७ पटक बुल्गेरियाको पोस्टमा प्रहार गरे पनि थप गोल गर्न सकेन । बराबरीसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३५ खेल पुर्याउँदै स्पेनको कीर्तिमानलाई बराबरी गरेको छ । समूह सीमा रहेको इटालीले ४ खेलमा १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार ०७:०६