दशौं राष्ट्रिय खेलकुदको मिति पाँचौंपटक तय, मंसिर १६ देखि २९ सम्म सञ्चालन हुने
वि.सं.२०८३ साउन २८ बिहीवार १५:२९

काठमाडौं-लामो समयदेखि अनिश्चित बन्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बिहीबार बसेको १२५औं बोर्ड बैठकले प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक सदस्यका अनुसार दशौं राष्ट्रिय खेलकुदका लागि यो पाँचौंपटक तोकिएको मिति हो। प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी भने यसअघि नै कर्णाली प्रदेशलाई दिइएको छ।
नवौं राष्ट्रिय खेलकुदको समापनका क्रममा २०७९ कात्तिक-मंसिरमै दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णालीमा आयोजना गर्ने घोषणा गरिएको थियो। तर, आवश्यक खेल पूर्वाधार समयमै तयार हुन नसकेपछि निर्धारित समयमा प्रतियोगिता आयोजना हुन सकेन।
त्यसपछि प्रतियोगिताका लागि पटकपटक नयाँ मिति तोकियो। २०८१ चैत २३ देखि ३० गतेसम्म गर्ने भनिएको प्रतियोगिता पुनः सारियो। त्यसपछि २०८२ जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय भयो। तर, उक्त मितिमा पनि प्रतियोगिता हुन सकेन।
पछिल्लो पटक फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भए पनि आर्थिक स्रोतको अभाव देखाउँदै त्यस मितिमा समेत खेलकुद आयोजना हुन सकेन। जेठमा गर्ने भनिएको निर्णय पनि कार्यान्वयनमा आउन सकेन।
यसबीच तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पुनः २०८२ फागुनमा दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेका थिए। तर, मन्त्री पदबाट राजीनामा दिएर निर्वाचन प्रक्रियामा गएपछि उक्त निर्णयसमेत कार्यान्वयन हुन सकेन।
अब राखेपले मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै दशौं राष्ट्रिय खेलकुदको लामो समयदेखिको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। यद्यपि, यसपटक पूर्वाधार, बजेट र व्यवस्थापकीय तयारी समयमै पूरा गर्नुपर्ने चुनौती राखेपसामु छ।
वि.सं.२०८३ साउन २८ बिहीवार १५:२९

















