मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि
वि.सं.२०७८ माघ १५ शनिवार १७:४७

पोखरा । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्न सफल भएको छ ।
खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।
मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए ।
त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए ।
तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको बललाई उनले हेडिङमार्फत गोल गरेका हुन् ।
निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन ।
वि.सं.२०७८ माघ १५ शनिवार १७:४७
















