कर सप्ताहमा सिमरामा प्रभातफेरीदेखि अन्तरकृयासम्म (फोटो फिचर)
वि.सं.२०८१ मंसिर १ शनिवार २१:५०
बारा– ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नारासहित यो वर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह (मङ्सिर १–७) शनिवारबाट सुरु भएको छ ।
दिवसको आन्तरिक राजस्व कार्यालय सिमरा, बाराले शनिबार विहान प्रभातफेरी निकालेको छ ।
प्रभातफेरीमा स्थानीय प्रशासन, व्यवसायिक संगठनका अगुवा, व्यापारी, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी सहभागी थिए ।
प्रभातफेरीपछि होटल क्लासिकमा आयोजित कर सप्ताह उद्घाटन कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी देखि अगुवा व्यवसायिहरुले धारणा राखेका थिए ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले करमा एकद्वार प्रणाली लागु गर्न सरकारसंग माग गरेका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय सिमराले आयोजना गरेको कर सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको गुनासो गरे । तीन तहका सरकारको तीन थरीको कर नीति अव्यवहारिक रहेको बताउँदै लामिछानेले संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको बताए ।
आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले सरकारले विगतको भन्दा २३ प्रतिशत बढी कर संकलनको लक्ष्य सिमरालाई दिएकाले यहाँका व्यवसायीलाई करको दायरामा आइ सहयोग गर्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर सप्ताहका सबै कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा चेम्बर्स अफ कमर्स बाराका अध्यक्ष बाराका अध्यक्ष रुपेश पोखरेल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन ब्यवसायी संघका कार्यवाहक अध्यक्ष शम्भुकुमार खड्गी लगायत उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो ।
वि.सं.२०८१ मंसिर १ शनिवार २१:५०