माओवादीको घोषणापत्र सार्वजनिक, घोषणापत्र कार्यान्वयन हुने ठाउँमा पुग्छौं– प्रचण्ड
वि.सं.२०७९ कात्तिक १४ सोमवार १६:०४

काठमाडौं। नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी घोषणापत्र कार्यान्वयन हुने ठाउँमा आफू पुग्ने बताएका छन् । सोमबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा उनले यसपटक यसपटक आफैं प्रतिबद्धता पूरा गर्ने र कार्यान्वयन गर्ने ठाउँमा छौं भन्ने उनले बताए ।
‘हामीले प्रतिबद्धता पत्र भनेर ०७४ सालमा पनि सार्वजनिक गरेका थियौं । त्यसबेला प्रतिबद्धता बनाउन वाम गठबन्धनमा माओवादीको भूमिका धेरै रह्यो । बरु सरकार चलाउन कुनै भूमिका रहेन । एकाधिकार ढंगले सरकार चलाइयो । हामीलाई आइस्युलेट गरियो,’ उनले भने, ‘हामीले पहिले गरेका प्रतिबद्धता पूरा गर्न अहिले हामीलाई मत दिनोस् भनेका छौं ।’
प्रचण्डले आफू सुरक्षित हुन्छु भनेर गोरखा २ मा नगएको दाबी गरे । ‘म सुरक्षित हुन्छु भनेर गोरखा गएको होइन । यहाँ मैले धेरै समय पढाएको छु । गठबन्धन दलका शीर्ष नेताहरूसँग सल्लाह गरेरै म रोल्पा र काठमाडौंबाट समेत निर्वाचन लडेको हुँ,’ उनले भने, ‘म सिराहामा पनि गएर चुनाव लडें । चितवन आफ्नै जिल्ला भएकाले एकपटक चुनाव लडौं भनेर गएको हुँ ।’
शासकीय प्रणालीका विषयमा गठबन्धनका दलसँग छलफल गरेर कार्यान्वयन गर्ने उनले बताए । आफ्नो पार्टीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा गठबन्धनमा दलसँग छलफल हुने प्रचण्डले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताएका छन् ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए ।
‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ । त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ उनले भने । प्रचण्डले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि दाबी गरे ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १६:०४
















