सोह्रखुट्टे प्रहरीको हिरासतमा रहेका थुनुवा फरार
वि.सं.२०७९ पुस ६ बुधवार २०:४८

काठमाडौं-प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर भागेका छन् । बुधवार दिउँसो लागुऔषध मुद्दामा थुनामा रहेका भारतिय नागरिक सचिन कुमार भागेका हुन् ।
१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पुस १ मा काठमाडौंको बागबजारबाट नियन्त्रणमा लिएपछि झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र थापा पनि भागेका थिए । प्रहरी वृत सिंहदरबारको टोलीलाई छक्याएर भागेका थापालाई प्रहरीले पुन: कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनी पनि लागुऔषध मुद्दाका आरोपी हुन् । प्रहरीको लापरवाहिका कारण उपत्यकामा मुद्दा अनुसन्धानको क्रममा रहेका थुनुवाहरु हिरासत र अदालत भित्रैबाट भाग्ने गरेका छन् ।
वि.सं.२०७९ पुस ६ बुधवार २०:४८

















