skip this bagdve 29 th

गौरीशंकरको ‘टपर’ मोहन : रुसको युर्निभर्सिटीदेखि अपर तामाकोशीको प्रमुख कार्यकारी अधिकृतसम्म

विद्यालयको सम्मान ग्रहणपछि अक्षयकोष स्थापनाको घोषणा

7.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-काभ्रेपलान्चोक जिल्लाको मादनकुँडारीमा जन्मिएर बाराको निजगढमा हुर्किएका मोहन प्रसाद गौतम राष्ट्रिय गौरबको स्वदेशी लगानीमा निर्माण पश्चात् सन्चालनमा रहेको राष्ट्रकै सबैभन्दा ठुलो ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रबद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको भुमिकामा छन् । उनी नेपाल विद्युत प्राधिकरणको निर्देशक हुन् ।

मधेसको सामुदायिक विद्यालयबाट एसएलसी सकेर काठमाण्डौको पुलचोक इन्जिनियरिङ्ग कलेज हुँदै तत्कालिन सोभियत संघ अर्थात अहिलेको रुसको युनिभर्सिटीसम्म अब्बल विद्यार्थीका रुपमा उत्कृष्ट नतिजा ल्याएका मोहन हालै उनले कक्षा ८ देखि १० सम्म अध्ययन गरेको निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा सम्मानित भएका छन् ।

विद्यालयको स्वर्णजयन्तीको अवसरमा मोहनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान गरेका हुन् । सम्मान ग्रहणपछि सम्बोधन गर्नेक्रममा मोहनले सामुदायिक विद्यालयमा पढेर यो स्थानसम्म पुगेकोमा गौरब महसुस मात्रै गरेनन् व्यक्तिगत रुपमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा प्रोत्साहित गर्न एक लाख धनराशीको अक्षयकोष स्थापनाको घोषणा समेत गरे । उनले कोषलाई क्रमशः बृद्धि गर्दै लैजाने सोच बनाएका छन् ।

यस्तो छ शैक्षिक यात्रा 

काभ्रेबाट २०३४ सालमा उनको परिवार निजगढ झरेको थियो । निजगढ आएपछि उनले निजगढ–६ सडकटोलस्थित गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा ६ र ७ अध्ययन गरे ।

त्यसपछि निजगढ बजारमा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भए ।कक्षा ८ देखि १० सम्म बिद्यालय प्रथम भै पुरस्कृत हुन्थे । त्यही विद्यालयबाट उनले २०३९ सालमा एसएलसी प्रथम श्रेणीमा उर्तिण गरे ।

विद्यालयको स्कुल टपर विद्यार्थी मोहनको यात्रा एसएलसीपछि इन्जिनियर बन्ने सपनाले काठमाण्डौको पुलचोक इन्जिनियरिङ्ग कलेजतिर सोझियो । त्यहाँ उत्कृष्ट अंक ल्याएर उनी उच्च शिक्षा अध्ययनका लागि सरकारी छात्रबृत्ति पाएर रुस पुगे । विदेशको भूमिमा समेत मोहनले अब्बल विद्यार्थीको छाप छाडे । स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उनलाई महेन्द्र विद्या भुषण पदकबाट सम्मनित गरिएको थियो ।

एकपछि अर्को सफलता

स्वदेश फर्किएर उनले विद्युत क्षेत्रमा काम थाले । उनको पहिलो कर्मथलो बुटवल पावर कम्पनीमार्फत खिम्ती–१ मा डिजाईन र निर्माण अनुगमनमा खटिए ।

नेपाल विद्युत प्राधिकरणमा उनको करियर २०६० बाट सुरुवात भयो । उनले खुल्ला प्रतिस्पर्धाबाट सिभिल इन्जिनियर ७ औं तहमा नाम निकाले । त्यसपछि आफुलाई अब्बल प्रतिस्पर्धी बनाउँदै क्रमशः खुला प्रतिस्पर्धामा एकपछि अर्को सफलता हात पार्दै ८ औ र ९ औं तहमा स्थान बनाए ।

विद्युत प्राधिकरण प्रवेशको १२ वर्षमा उनी प्रबन्धक (दशौ तह) बनिसकेका थिए । २०६४ देखि ०७२ सालसम्म माथिल्लो तामाकोसी आयोजनामै कार्यरत रहे ।

त्यसपछिको एक वर्ष दुधकोशी जलासययुक्त जलविद्युत आयोजनाको आयोजना प्रमुखका रुपमा काम गरे ।

२०७३ देखि त्रिशुली जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालक रहे जहाँ उनले माथिल्लो त्रिशुली–३ बी जलविद्युत आयोजनाको कार्य सुरुआत गरि ७० प्रतिशत काम उनकै नेतृत्वमा पुरा भयो ।

२०७९ चैत्रदेखि उनी राष्ट्रकै ठुलो र गौरवको माथिल्लो तामाकोशी जल विद्युत आयोजना ४५६ मेगावाटको प्रवर्धक कम्पनी अप्पर तामाकोशी हाईड्रोपावर लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् । ऊनी त्रिशुली जलविद्युत कम्पनी र जग्दुल्ला हाइड्रोपावर कम्पनीका संचालक समेत रहेका छन् ।

पारिवारिक पृष्ठभूमि

मोहनका बुवा डिल्लीप्रसाद गौतम पूर्व जनप्रतिनिधि र समाजसेवी व्यक्तित्व हुन् । उनी तत्कालिन निजगढ गाविस वडा नं. २ (हालको निजगढ नगरपालिका वडा नं. ५) का दुई पटक जननिर्वाचित वडा अध्यक्ष हुन् ।

बागदेवमा रहेको सार्वजनिक माध्यमिक विद्यालयको संस्थापक हुन् । त्यहाँको व्यवस्थापन समितिको नेतृत्व गरेर विद्यालयलाई सञ्चालन गरेका थिए ।

त्यसपछि उनको परिवार २०५५ मा बागदेवबाट उनले एसएलसी दिएको विद्यालय छेउमा बसाई स¥यो । त्यसपछि २०५७ देखि यो परिवार काठमाण्डौ, बुद्धनगरमा छ ।

४ दिदीबहिनी र एक भाई रहेका मोहन घरका जेठा छोरा हुन् । उनको एक छोरा र एक छोरी छन् । उनीहरु उच्च शिक्षा अध्ययनका लागि अहिले अमेरिका छन् ।

आध्यामिक व्यक्तित्व

मोहनको व्यवसायिक जीवनसँगै अर्को पाटो पनि छ, त्यो हो आध्यमिक पक्ष । मनुष्यको सुख, शान्ति र समृद्धिको लक्ष्य बोकेको जीवन विज्ञानकोे प्रशिक्षक समेत रहेका छन । उनले योग, प्राणायाम र ध्यान सिकाउने र सेवामुखी कार्य पनि गर्दछन् । बुढानिलकण्ठ अनलाइन जीवन योग प्रयोगशालामा संयोजकको भुमिकामा रहेर दैनिक बिहान एक हजार जना सम्म जुम माध्यमबाट वर्कशप समेत चलाउँछन् । उनी त्यहाँको संयोजक हुन् ।

योगध्यानको लागि इच्छुक महानुभावहरुले हरेक दिन बिहान ५ बजे देखि ६:३० सम्म हुने जुमको प्रयोगशालामा जोडिन सक्छन् । जसको जुम आइडी 9851060263 र पासकोड 123456 रहेको छ।

nijgadh-supermart-adz1200-630