हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू –यातायात कार्यालय गण्डकी
वि.सं.२०७९ जेठ २४ मंगलवार १५:५४

काठमाडौं । यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो ।पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीधनी कार्यालय नआउन भनिएको छ ।
‘अहिले सेवाग्राहीको चाप अधिक बढेको छ । कार्यालयमा विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अरु उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० वटासम्म मात्रै बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘कार्यालय परिसरमा सवारीसाधन पार्किङको पनि समस्या रहेकाले सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि यस कार्यालयबाट नयाँ तथा सरुवा दर्ता भई आउने सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने सूचना अनुरोध छ ।’
सरकारले हतारमा इम्बोस्ड नम्बर फेर्न उर्दी जारी गरेपछि पोखराका संघसंस्थाले विरोध जनाएका छन् । उद्योग वाणिज्य महासंघ र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गरी इम्बोस्ड नम्बर प्लेट फेर्ने निर्णय बदनियतपूर्ण भएको भन्दै सच्याउन आग्रह गरेका छन् । विरोध बढेपछि कार्यालयले सूचना निकालेर नयाँ व्यवस्था नहुँदासम्म पुराना गाडीमा प्लेट नफेरिने जनाएको हो ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १५:५४

















