skip this

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्ग्यानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भने, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिबद्ध छ ।’’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘‘निजी क्षेत्रलाई विश्वासमा नलिईकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रस्ट राखेको छु।’’

ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा सहभागि ।

‘‘यस पटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यस पटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रो पटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनै पर्छ।’’

‘‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ। कसैलाई पनि अहङ्कार गर्ने अभिमत जनताले दिएका छैनन्। हामी इमानदार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ’’ उनले भने। हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यस कारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु।’’

साधारण सभामा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

nijgadh-supermart-adz1200-630