बारामा झडपमा युवाको मृत्यु : मृतकको परिवारलाई १० लाखको चेक हस्तान्तरण
वि.सं.२०७८ चैत ८ मंगलवार २०:३३

बारा । गत कात्तिक २५ गते छठ पर्व को दिन दुई पक्षबीच भएकाे झडपमा परी मृत्यु भएका कलैया उपमहानगरपालिका -२५ का १८ वर्षीय राधेश्याम राउत कुर्मी पटेलकाे परिवारलाई सरकारले आर्थिक सहयोग गरेको छ ।
झडपमा परी घाइते भएका पटेलको एन एस न्युरो तथा जेनेरल होस्पिटलमा उपचारको क्रममा पुस २१ गते मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस प्रसाद साह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी बाराका प्रमुख राजेन्द्र थापाले संयुक्त रुपमा मृतकका पिता राजकुमार राउत कुर्मी पटेललाई १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी कट्वालले चेक हस्तान्तरण गर्दै घटनामा संलग्न ८ जनामाथी ज्यानमार्ने उधोगको मुद्दा दर्ता भईसकेको बताए । यद्यपि हालसम्म एक जना पक्राउ परेका छन् ।
उनले फरार रहेका बाँकी आरोपीहरुलाई सिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत जनाएका छन् । कट्वालले मृतक परिवारका एक सदस्यलाई रोजगारको व्यवस्था समेत गर्ने जनाएका छन् ।
वि.सं.२०७८ चैत ८ मंगलवार २०:३३

















