त्रिविको परीक्षा अनियमिता प्रकरणः छानबिन समितिको प्रतिवेदनमाथि नै शंका
वि.सं.२०७८ माघ २४ सोमवार १२:०८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह भौतिक शास्त्रअन्तरगत प्रथम सेमेस्टरको परीक्षामा भएको अनिमियता छानबिन गर्न गठित समितिले एक वर्षपछि प्रतिवेदन बुझाएको छ ।
पुरानो कोर्षअन्तगत आशिंकतर्फको क्वान्टम मेकानिक फिजिक्स ५०३ विषयमा योग्यता नपुगी प्रमाणपत्र दिएको, प्रमाणको रुपमा रहेको उत्तरपुस्तिका नष्ट गर्न खोजेकोलगायतका विषयमा छानबिन गर्न गठित समितिले एक वर्षपछि प्रतिवेदन बुझाएको हो ।
२०७७ माघ २९ गते शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले छानबिन समिति गठन गरेका थिए । गंगाबहादुर थापाको संयोजकत्वमा पुस्करसिंह रैखोला र चक्रपाणि लम्साल सदस्य रहेको छानबिन समिति गठन भएको थियो ।
छानबिन समितिका संयोजक गंगाबहादुर थापाले प्रतिवेदन पाँचदिनअघि शिक्षाध्यक्ष प्रा डा भुसाललाई बुझाएको बताए ।
प्रतिवेदनमाथि नै शंका
२०७५ पुस २९ गते भएको क्वान्टम मेकानिक फिजिक्स ५०३ विषयको परीक्षामा ७८ जना परीक्षार्थी सहभागी थिए । तर ४५ पूर्णाङ्कको प्रश्नपत्रमा ५ अंकको प्रश्न मात्रै पाठ्यक्रम भित्रबाट सोधिएको भन्दै परीक्षार्थीले आपत्ति जनाएपछि विवाद भएको थियो ।
नियमतः पाठ्याक्रम बाहिरबाट प्रश्न बनाउनेलाई कारबाही गरी परीक्षा नै रद्द गर्नुपर्ने हो । तर त्यतिबेलाका डीन प्रा.डा. रामप्रसाद खतिवडाले उत्तरपुस्तिका सदर गरी योग्यता नै नपुगेकालाई ‘झुटो प्रमाणपत्र’ दिएको आरोप छ ।
तत्कालीन शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले बनाएको छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रश्नपत्र पाठ्यक्रम बाहिरबाट बनाइएको र सम्बन्धित विषयमा योग्यता नपुगेको जान्दाजान्दै ‘झुटो प्रमाणपत्र’ दिएको उल्लेख छ । छानबिन समितिबाट यस्तो प्रतिवेदन आएपछि परीक्षा हुनुपर्ने नियम छ ।
राष्ट्रिय सर्तकता केन्द्र र राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिकालगायत विवादित परीक्षासँग सम्बन्धित कागजात नष्ट नगरी सुरक्षित रुपमा राख्न डीन, रजिष्ट्रार, शिक्षाध्यक्ष, उपकुलपति, जनसम्पर्क महाशाखाका सूचना अधिकारीलाई निर्देशन दिएको थियो । तर डीन कार्यालयले उत्तरपुस्तिका नै हतारहतार नष्ट गर्न खोजेको थियो ।
योग्यता नपुगी प्रमाणपत्र दिएको र उत्तरपुस्तिका नष्ट गर्न खोजेपछि आन्दोलनरत विद्यार्थीले छानबिन समिति बनाउन दबाब दिएको थियो । त्यसपछि नयाँ शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाल आएपछि थापाको संयोजकमा छानविन समिति गठन गरेको थियो ।
तर उक्त छानबिन समितिले बुझाएको प्रतिवेदनमा २७ जना विद्यार्थीले जाँच दिएर पास भएको उल्लेख गरेको छ । जबकि २० जना विद्यर्थाीले परीक्षा बहिस्कार गरेका थिए भने ४० जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमध्ये २७ जना त्यतिबेला नै पास भएका थिए । यहाँ छानबिन समितिकै प्रतिवेदनमा प्रश्न उठ्छ । प्रश्नपत्र बाहिरबाट आएपछि कसरी पास भए त ? भन्ने प्रश्न उठेको छ, तर यसबारे प्रतिवेदनमा खुलेको छैन ।
वि.सं.२०७८ माघ २४ सोमवार १२:०८

















