skip this

नेपाल आज डटकमलाई विज्ञापनलगायत सेवासुविधाबाट बञ्चित गर्न मन्त्रालय र विभागलाई काउन्सिलको पत्र

3.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । प्रेस काउन्सिल नेपालले नेपाल आज डटकम (www.nepalaaja.com) लाई प्रेस पास, विज्ञापन लगायत अन्य सुविधा नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई पत्राचार गरेको छ ।

पटकपटक पत्रकार आचारसंहिताको उल्लङ्घन गरी सचेत गराउँदा समेत अटेरी गरेपछि कालोसूचीमा राखिएको उक्त अनलाइनलाई सेवासुविधाबाट बञ्चित गर्न काउन्सिलले पत्राचार गरेको हो ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको फागुन १३ गतेको बैठकले सो अनलाइनका विषयमा परेका उजुरी र गुनासाबारे छलफल गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

नेपाल आज डटकमबाट अपुष्ट स्रोतको हवाला दिंदै एउटै विषयमा सिलसिलेवररूपमा, प्रायोजित एवं एकपक्षीयरूपमा सामग्रीहरू सम्प्रेषण गरेकोे, व्यक्तिगत चरित्रहत्या गरेको, गैरव्यावसायिक क्रियाकलाप गरेको, ‘ब्ल्याकमेलिङ’ गर्ने र आफ्ना गैर–व्यावसायिक माग पूरा नभए बिनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको, गुनासा र उजुरी तथा सोबारे अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कालोसूचीमा राख्ने निर्णय भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो ।

सोही बैठकले नेपाल आज डटकम र यसका सञ्चालकले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्दै व्यक्तिगत चरित्रहत्या गर्ने कार्यमा सुधार नगरेको, ‘ब्ल्याकमेलिङ’ गर्ने र आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको, भ्रमपूर्ण सामग्री पटकपटक सम्प्रेण गर्दै आएको, पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र पत्रकार आचारसंहिताको सीमाभन्दा बाहिर गइ पत्रकारिता पेसाको चरम दुरूपयोग गर्दै आएको देखिएकोले सबै सेवा सुविधाबाट बञ्चित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

कालोसूचीमा राख्ने शुक्रबारको निर्णयपछि उक्त अनलाइनले बेसरोकारको प्रतिक्रिया दिँदै आफ्नो गल्ती ढाकछोप गर्न गरेको टिप्पणीप्रति गम्भीर हुँदै काउन्सिलले यस्तो प्रवृत्ति नदोहोर्‍याउन सचेत गराएको छ ।

यस अघि काउन्सिलले दुईवटा अनलाइन सञ्चार माध्यमलाई कालो सूचीमा राखेको थियाे । काउन्सिलका प्रवक्ता वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गरेर नेपाल आज डटकम र ‘सगरमाथा खबर डटकम’लाई कालोसूचीमा राखेको जानकारी दिएका थिए।

‘काउन्सिलअन्तर्गत रहेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले सोको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई गराइ उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) बमोजिम सिफारिस गर्ने समेत निर्णय गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल आज डटकमका विरुद्ध पछिल्लो २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटकपटक फोन गरी हैरानी दिने गरेको आरोपसहित महिला पत्रकारबाट परेकासहित विभिन्न ६ उजुरी परेको काउन्सिलले जनाएको छ । ‘आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने, कतिपय प्रकाशित खण्डन तोडमरोड गरेर पुनः समाचार नै बनाइ प्रकाशन गर्ने, घरीघरी सचेत÷ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको हो’ जारी विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले पटकपटक दिएकोे निर्देशनलाई अवज्ञा गरेकोले ‘सगरमाथा खबर डटकमलाई समेत कालोसूचीमा राखेको जनाएको छ ।

काउन्सिलमा २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासा दर्ता भएका छन् । जसमध्ये ८१ उजुरी र ४ जनगुनासा फर्छयौट भएको जनाइएको छ । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फर्छुयौट भएका छन् । यस्तै ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता÷सूचीकरण नभएका वेबपोर्टलहरू नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएको छ । दुई सञ्चार माध्यम अवज्ञाकारी सूचीमा परेका छन् ।

nijgadh-supermart-adz1200-630