skip this

बलात्कृत बालिकाको पक्षमा किन बोल्दैनन् महिला संघ संगठन ?

2.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । हाम्रो समाज रोगी र कुण्ठित छ भन्ने धेरै पहिले नै थाहा थियो तर अहिले देखिएको स्तरसम्म समाज प्रतिगामी र जीर्ण छ जस्तो चाहिँ लागेको थिएन । बलात्कार आरोपीका पक्षमा खुलम् खुला लाग्न सक्नेहरु पनि यो समाजमा रहेछन् । के महिला–के पुरुष, सामाजिक संजाल र अन्य सामाजिक प्लेटफर्मममा समेत बलात्कारीका पक्षमा देख्दा उदेक लागेको छ । घरमा बयस्क छोरी भएका आमाहरूसमेत कसरी आरोपीप्रति सदासयता राख्न सक्छन् भनेर म चकित छु ।

सम्झील्याउँदा कति डरलाग्दो रहेछ यो समाज ! मैले यो ‘डरलाग्दो’ घटनापछि कला क्षेत्रका सफल व्यक्तिहरूसँग सम्पर्क गरेर उनीहरूका विचार बुझ्न चाहेँ तर तिनीहरूका विचार डरलाग्दा थिए । घरमा किशोरी छोरी भएका ‘बा’हरू पनि यो घटनाबिरुद्ध बोलेनन्, तटस्थ बस्न चाहे । उनीहरू बोलिदिनुको ठुलो अर्थ हुन्थ्यो तर बोल्न चाहेनन् । शायद, पपुलर न्यारेटिभविरुद्ध गएर जोखिम बोल्न नचाहेका होलान् । इच्छाविपरीत यौनसम्बन्ध त के, अनुमतिबिना अर्काको काँधमा हात राख्नु पनि हिंसा हो भन्ने कुरा उनीहरूले नबुझेका होइनन्, बुझ्न नचाहेका हुन्, नाम चलेको कलाकारमाथि लागेको बलात्कारको आरोपविरुद्ध बोल्दा आफ्नो पनि कलाकारिता भोलि धरापमा पर्ला कि भनेर तर्सेका हुन् ।

राजनीतिमै लागेका महिलाहरूसमेत बलात्कारका बारेमा किन चुप छन् भनेर सामाजिक संजालमा केही प्रश्नहरू सोधिएका छन् । आफ्ना पार्टीका नेताहरूको जन्मदिन, बैबाहिक बर्षगाँंठ, सफलता–असफलता, कस्मेटिक र कृत्रिम उपलब्धिहरुमा घरघर पुगेर शुभकाना दिन भ्याउने हाम्रा कमरेडहरू कतै चुक्नु र छुट्नुभएको छैन । तर देशमा सानासाना नानीहरूको बलात्कार हुँदा भने दलका फुलीधारी महिलाहरूलाई छुँदैन ।

कमसेकम मेरै पार्टीनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) ले मात्रै काठमाडौंमा १ हजार महिलाहरूको जुलुस निकाल्नुको अर्थ र सन्देश पक्कै ठुलो हुने थियो । बलात्कार आरोपको विषय अदालतमा पुगेका कारणले आन्दोलन गरिएन भन्ने तर्क गर्न सकिन्छ तर यस्ता मुद्दाहरूमा लबिइङ र ऐक्यवद्धता पनि उत्तिकै आवश्यक हुन्छ । तर पीडित पक्ष स्वयंले आपूm सार्वजनिक रूपमा हिँड्न र डुल्न पनि असहज भएको बताइरहेको अवस्थामा उनकै ढाडसकै लागि पनि महिला संस्थाहरू उनीकहाँ पुग्नुपर्ने होइन ? साथ र समर्थन दिनुपर्ने होइन ?

तर राजनीतिमार्फत् नै शक्ति र सत्तामा पुगेकाहरूले आज भुईँका कुरालाई किन बेवास्ता गरिरहेका छन् ? आजका किशोरीहरूका आमाहरूले वा समग्र महिलाहरूले अनेमसंघहरूलाई किन सम्झनुपर्छ भनेर कमरेडहरूले सोच्नुपर्दैन ? महिलाका नाममा राजनीति गर्ने अनेमसंघलगायत अन्य महिला संघ वा संगठनले यो कुरा ख्याल गर्नुपर्दैन ? १७ बर्षे किशोरीले आफूमाथि बलात्कार भएको र बलात्कारीबिरुद्ध कारबाही होस् भन्ने साहस देखाइन् । यस्तो बलात्कारका विषयमा समाज झस्कनु पथ्र्यो । किशोरीको साहसमा साथ र हिम्मतलाई ढाडस दिइनुपथ्र्यो ।

तर उल्टै कतिपय मान्छेहरू १७ बर्षकी ती किशोरीलाई चरित्रहीन करार गर्न खोज्दैछन् । उनीहरूको कुरा सुन्दा लाग्छ, बलात्कार किशोरीले गरेकी हुन् । यो घटना बाहिरिएपछि मैले मेरा आफन्त–किशोरीहरूलाई फोन गरेर मैले भनेँ, ‘यदि तिमीहरूलाई कसैले गलत ढंगले हेर्दैछ या कसैले गलत व्यवहार गरेको भए मलाई भन्नु ।’ गतहप्ता नै मेरी साथीले एक राष्ट्रिय दैनिकमा काकाले आफूमाथि बलात्कार गरेको ‘कथा’ लेखेकी थिइन् । केही समय अगाडि अर्की साथीले आफू बच्चामै बलात्कारमा परेको कुरा सेयर गरिन् । (त्यो सम्झिने बित्तिकै मेरा आँखा अझै रसाउँछन् ।)

अनेकौँ बहानामा चुपचाप बसेका सफल कलाकारहरू, नायक–नायिकाहरु र ‘अधिकारकर्मी’हरू हो, सके फकाएर–लोभ्याएर, नसके धम्क्याएर, त्यो पनि नभए बल प्रयोग गरेर गरिने यौनअपराध नै हो । यौनसम्बन्ध त्यतिबेला मात्र जायज हुन्छ, जतिखेर दुबै निर्धक्क सहभागी हुन्छन् । यति सामान्य कुरा बुझ्न नसक्नु कमजोरी हो तर बुझ्न नचाहनु चाहिँ एक किसिमको अपराध हो । र, अन्त्यमा राजनीतिक कार्यकर्ताहरूलाई अनुरोध, तपाईँहरू लैगिंकता (जेण्डर) का जटिलताहरू जान्नुहुन्न भने आउनुस्, गम्भीर छलफल गरौँ । महिलामाथि कस्ताकस्ता हिंसा र हर्कत हुन्छ ? आफू नजिकका महिलाहरू (आमा, दिदीबहीनी, श्रीमती र प्रेमीहरू) सँग छलफल गर्नुस् । त्यति गर्दा सबै विषयहरू नजानिएला, तर धेरथोर तपाईँलाई सम्वेदनशील बनाउँछ ।

लेखक नेकपा(एमाले)की केन्द्रीय सदस्य हुन् । सामाजिक संजाल फेसबुकमा पोष्ट गरिएको यो विचार सान्दर्भिक लागेकाले साभार गरिएको हो : डेक्स सम्पादक

nijgadh-supermart-adz1200-630