भारतबाट आएको मोटरसाईकलभरि पैसैपैसा (फोटोफिचर)
तस्करको शैली देखेर शसस्त्र प्रहरी नै हैरान
वि.सं.२०७८ फागुन २७ शुक्रवार १९:१०

काठमाण्डौं । भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ विभिन्न अवैध सामानको ओसार पसार हुनु नौलो होईन् । सिमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न शसस्त्र प्रहरी खटिएको छ ।
सुरक्षा अवस्था कडा बनाएसंगै अवैध कारोबार गर्ने व्यक्तिहरुले कारोबार गर्ने शैली परिवर्तन गर्दै आएका छन् । सुरक्षाकर्मीको आँखा छल्न उनीहरुले प्रयोग गर्ने शैलीले छक्क पार्ने खालका समेत हुने गर्छन् । यस्तै घटना रौतहटमा भएको छ ।

रौतहटको बौधिमाई नगरपालिका–९ सरमझुवामा अवैध रुपमा नेपाली रुपैया भारतबाट भित्र्याईदै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको टोलीले फेला पा¥यो । तस्करको शैली देखेर शसस्त्र प्रहरी नै हैरान भएको छ ।
१८ लाख ७३ हजार नेपाली रुपैया नगद झोला विनै तस्करले नेपाल भित्र्याएका थिए । सुरक्षा निकायको आँखा छल्न उनीहरुले मोटरसाईकलको विभिन्न भागमा लुकाएर ल्याएका थिए । मोटरसाईकलको टुलबक्स, हेल्मेट र सिटमुनी लुकाएर राखिएको थियो ।

शसस्त्र प्रहरी बल छिन्नमस्ता गण बाहिनी इस्टक्वाड टोलीको सूचनाको आधारमा स्टक्वाड टोली तथा नं. ११ गण रौतहट एसआई पञ्कज कुमार सिंहको कमाण्डमा ४ जनाको टोलीले नगदसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

स्रोत नखुलेको नेपाली रुपैया हुण्डीमार्फत कारोबार भएको शसस्त्र प्रहरीको आशंका छ । अवैध रुपैया अनुसन्धानको लागि गौर भन्सार कार्यालयमा पठाईएको शसस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण जिल्लाको मोतिहारी थाना महुअवाका ४५ वर्षिय दिपनारायण प्रसाद रहेका छन् । शसस्त्र प्रहरीले तस्करीमा प्रयोग भएको बिआर ०५ वाई २९६९ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १९:१०
















