लगानी बोर्ड नेपाल र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर, निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने
वि.सं.२०७८ चैत ८ मंगलवार १८:१६

काठमाडाैं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र युएनडिपीका तर्फबाट आवासीय प्रतिनिधि आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गर्नुभएको छ ।
समझदारीपत्रमा संस्थागत क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवद्र्धनमा सहकार्य गर्ने कुरा उल्लेख गरिएको प्रवक्ता भगवान् अर्यालले जानकारी दिनुभयो । नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र सम्मिश्रित वित्तका माध्यमबाट लगानी प्रवद्र्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्न यो सहकार्यले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्याङ्कन मापदण्ड, परियोजना विकास सम्झौता र परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यका लागि सहयोग स्थापित गर्ने विषयमा समझदारीपत्रमा उल्लेख गरिएको छ ।
बोर्डको सेवा प्रवाहलाई प्रभावकारी बनाउन विशेष कार्य प्रणाली विकास गर्न सहकार्य गर्नेलगायत अन्य सहकार्य गर्न सकिने क्षेत्रमा संयुक्तरूपमा अघि बढ्ने विषयमा समान धारणा बनाइएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले यस समझदारीले नेपालमा लगानी प्रवद्र्धनमा नयाँ आशाको सिर्जना गर्ने बताए । त्यसका लागि बोर्डको आन्तरिक क्षमता वृद्धि गर्ने, लगानीकर्ताका जोखिम न्यूनीकरण गर्ने, अनुमान योग्यता प्रवद्र्धन गर्ने कार्यमा सहयोग आदानप्रदान हुने पक्षमा उहाँले जोड दिए ।
उहाँले लगानी बोर्डलाई उत्कृष्टताको केन्द्रका रूपमा अघि बढाउन आन्तरिकरूपमा कार्य गरिरहेको बताउँदै पछिल्लो सम्झौताले सङ्गठनात्मकरूपमा परिवर्तन व्यवस्थापन गर्दै अघि बढ्न अत्यन्तै सहज हुने आशा व्यक्त गर्नुभयो ।
यसैगरी संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि लाबेले आफूहरुले १७० देशमा सहकार्य गरिरहेको जानकारी गराउँदै नेपाल विकासशील देशमा स्तरोन्नति हुँदै गरेको वर्तमान सन्दर्भमा बोर्डसँगको सहकार्यले तीन तहकै सरकारका क्षमता विकासमा सकारात्मक भूमिका खल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले युएनडिपीले आगामी पाँच वर्षका लागि नेपालसम्बन्धी रणनीतिक योजना तयार गरिरहेको जानकारी दिँदै शासकीय क्षेत्र, लैङ्गिक क्षेत्र, समावेशी आर्थिक वृद्धि जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्ने उल्लेख गर्नुभयो ।
वि.सं.२०७८ चैत ८ मंगलवार १८:१६

















