सर्लाहीको धन्कौलमा आगलागी हुदाँ १३ घर जलेर नष्ट
विपन्न परिवारकाे विचल्लि
वि.सं.२०७८ चैत १२ शनिवार २१:०१

सर्लाही । सर्लाहीकाे धन्कौल गाउँपालिका- ५ पासवानबस्तीमा शनिबार दिउँसो भीषण आगलागी हुदाँ १३ वटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट अधिकांश फुसको छानो भएका कच्ची घर जलेका छन् । आगलागीबाट घरमा रहेका लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको थियो ।
स्थानीय प्रदीप पासवानको घरबाट दिउँसो एक्कासि
बस्तीमा आगो सुरु भएको प्रत्यक्षदर्शीको भनाई छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो ।
आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए ।
आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको हो । आगलागीको यकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।
आगलागी भएकाे बेलामा तीव्र गतिमा हावा चलेको कारण आगलागी नियन्त्रणमा आउन केही ढिला भएको र धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताए ।
आगलागी स्थानीय, सुरक्षाकर्मी र सदरमुकाम मलङ्गवा तथा हरिवन नगरपालिकाको वारुण यन्त्रको सहयोगले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगलागीपछि विपन्न पीडितहरूको बिचल्ली भएको छ । पीडितहरू छिमेकीको घरमा शरण लिएर बसेका वडाध्यक्ष महतोले जानकारी दिए ।
वि.सं.२०७८ चैत १२ शनिवार २१:०१
















