कलैयामा तीन दलीय गठबन्धन घोषणा : कलैया उपमहानगरपालिका मिलेर जाने
कांग्रेस गठबन्धनमा आए तालमेल हुने अन्यथा तीन दल एक भएर अघि बढ्ने
वि.सं.२०७९ वैशाख १ बिहीवार २१:४८

बारा । बाराको कलैयामा उपमहानगरपालिकामा तीन दलीय गठबन्धन घोषणा गरिएको छ । केन्द्रमा पाँच दलिय गठबन्धन भएपनि कलैयामा भने तीन दलिय गठबन्धन घोषणा गरिएको हो ।
जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले पत्रकार सम्मेलन गरेर निर्वाचनमा एक भएर जाने घोषणा गरेका हुन् । पत्रकार सम्मलेनमा कांग्रेस र राष्ट्रिय जनमोर्चाको उपस्थिति रहेको थिएन् ।
कांग्रेस गठबन्धनमा आए तालमेल हुने अन्यथा तीन दल एक भएर अघि बढ्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । पाँच दलीय गठबन्धनमध्ये तीन दलले विहिवार पत्रकार सम्मेलन गरेर निर्वाचन लड्ने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा जसपा कलैया नगरका अध्यक्ष शिवनाथ पटेलले आगामी निर्वाचनमा तीन दलबीच गठबन्धन गरेर अघि बढ्ने सहमती भएको जानकारी दिए । यसैगरी नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मुकेश साहले पाँच दलीय गठबन्धनमा रहेका अन्य दलसंग छलफल भईरहेको र अन्य दल नआए तीन दल मिलेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।
नेकपा एसका नगर अध्यक्ष अरुण खनालले तीन दलबीचको सहमतीलाई जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए । पत्रकार सम्मेलनमा जसपा नेता प्रमोद गुप्ता, रामकिशोर यादव, नेकपा एसका ध्रुव यादवलगायत तीन दलका नेताकार्यकर्ता उपस्थित थिए ।
वि.सं.२०७९ वैशाख १ बिहीवार २१:४८
















