कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज सार्वजनिक गर्दै
वि.सं.२०७९ वैशाख ११ आइतवार ०७:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र कांग्रेसले आज सार्वजनिक गर्न लागेको हो । घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । कांग्रेसले क्षेत्रगत विज्ञहरूलाई समेत समेटेर घोषणापत्र तयार गरिएको जानकारी दिएको छ ।
घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत समेटिएको छ । समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई घोषणापत्रमा समेटिएको छ । कांग्रेसले स्थानीय तहले सम्बन्धित स्थानीय तहको आवश्यकता र महत्वलाई हेरेर घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
वि.सं.२०७९ वैशाख ११ आइतवार ०७:२२

















