कम्यूनिष्टको किल्लामा राप्रपाको टक्कर ! झिनो मतले एमालेले जोगायो विरासत
गठबन्धनको घातको सिकार भईन् धनमाया
वि.सं.२०७९ जेठ ३ मंगलवार २०:५५

बारा । बाराको निजगढ नगरपालिका वडा नं. ६ कम्यूनिष्टको लाल किल्ला भनेर चिनिन्छ । २०४९ सालदेखि एमालेले निरन्तर जित्दै आएको यो वडामा यो निर्वाचनमा भने राप्रपाले टक्कर दियो ।
राप्रपाको चुनौती चिर्दैै एमालेले चौथो कार्यकालको लागि वडाको नेतृत्व पाएको छ । २०४९ र २०५४ को स्थानीय चुनावमा एमालेका स्व. चोलाप्रसाद तिमल्सिनाले नेतृत्व गरेका थिए । त्यसपछि गत स्थानीय तह निर्वाचनमा एमालेका कुशबहादुर थापा विजयी भएका थिए । राप्रपाबाट राजनीति गर्दैै आएका थापालाई एमालेमा भित्र्याएर टिकट दिएको थियो ।
पाँच वर्षे कार्यकाल पुरा गरेका थापा पुनः अध्यक्ष पदका आंकाक्षि थिए । थापालाई पन्छाउँदै घनश्याम तिमल्सिनाले टिकट हात पारेका थिए । पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै घनश्यामले एमालेको विरासत धानेका छन् ।
वडामा सत्ता गठबन्धनको अन्तिम तयारी भईरहेका बेलामा कांग्रेसबाट आंकाक्षि रहेका लिलाबहादुर राउत ‘केशव’ टिकट नपाउने देखेपछि राप्रपा प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका थिए ।

कांग्रेसबाट विद्रोह गरेर राप्रपाको उम्मेदवार बनेका केशव एमालेका लागि मुख्य प्रतिस्पर्धिका रुपमा देखिए । मतगणना भईरहदाँ ‘हलो गाड्यो’ भन्दै चर्चा भएको थियो । घनश्याम र केशवबीच पटक–पटक मतको उताढ चढाव भएको थियो । अन्ततः एमालेका घनश्यामले ८५ मतको अन्तरले नतिजा आफ्नो पक्षमा पार्न सफल भए । घनश्यामले ७५३ मत ल्याए भने केशवले ६६८ मत प्राप्त गरे ।

गठबन्धनले माओवादी नेतृ धनमाया लामालाई अघि सारेको थियो । उनी गठबन्धनबाट उनी नगरकै एक मात्रै अध्यक्ष पदकी महिला उम्मेदवार हुन् । उनको नेतृत्वमा कांग्रेसबाट उर्मिला लामासहित चुनावी मैदानमा उत्रिएपनि गठबन्धनको मुख्य घटक कांग्रेसको बलियो साथ पाईनन् । कांग्रेसका केशव राप्रपाबाट र भिबहादुर स्याङतनले स्वतन्त्र उम्मेदवारी दिए । कांग्रेसभित्रको असन्तुष्टि व्यवस्थापन गर्न नेतृत्व चुक्दा घनमाया नेतृत्वको गठबन्धनलाई ‘घात’ भयो । उनी तेस्रो स्थानमा खुम्चिन पुगिन् । धनमायाले २६१ मत पाईन् ।

मत परिणाम एमालेको पक्षमा पारेपनि वडामा राप्रपाको उदयले कम्यूनिष्ट किल्लालाई धक्का दिने चर्चा सेलाएको छैन ।
वि.सं.२०७९ जेठ ३ मंगलवार २०:५५
















