नेराआवि बजनीमा डेढ दशकअघि सञ्चालित महायज्ञको बोलकबोल दान रकम संकलन गर्न समिति गठन
वि.सं.२०८३ वैशाख ६ आइतवार २०:०७

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा डेढ दशक अघि सञ्चालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा बोलकबुल दान रकम संकलन गर्न समिति बनाईएको छ ।
२०६७ जेठ १६ देखि २३ गतेसम्म विद्यालयमा सञ्चालित महायज्ञमा दान कबोल गरेका दाताहरूबाट उठ्न पर्ने रकम संकलनका लागि समाजसेवी अमृतलाल श्रेष्ठको संयोजकत्वमा ११ सदस्य समिति गठन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनप्रसाद तिमल्सिनाको अध्यक्षतामा विद्यालयमा आईतबार विद्यालय व्यवस्थापन समिती, सामाजिक व्यक्तित्वहरु भद्रभलादमी, शिक्षा प्रेमी अभिभावक लगायतको भेलाले श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सह–संयोजकमा शिक्षा ढुङ्गाना, सदस्यमा जगनाथ घिमिरे, कृष्ण खनाल, चेतनाथ रिमाल, भैरव थपलिया, अनिता खत्री, नारायण उप्रेती, शुसिल ढोडारी, बलराम चिमरिया, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिनेश पराजुली रहेका छन् ।
यसैविच भेलापछि दाताहरुले विद्यालयको बोलकबुल रकम हस्तान्तरण गर्न थालेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–३ की पार्वती रिमालले पाँच हजारको चेक संयोजक श्रेष्ठ र प्रधानाध्यापक पराजुलीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिका–३ का आवरसिंह क्षेत्रीले ११ हजार नगद विद्यालयका प्रअ पराजुलीलाई हस्तान्तरण गरेका छन् ।
महायज्ञमा बोलकबुल दान रकम संकलन गरेर विद्यालयको कृषि विकास बैंक सिमरा शाखामा रहेको अक्षयकोषमा जम्मा गरिने भएको छ ।
विद्यालयले केहि समयअघि विद्यालयको सहयोगार्थ अक्षयकोष स्थापना गरेर कृषि विकास बैंक सिमरा, शाखामा खाता सार्वजनिक गरेको थियो ।
महायज्ञका दाता र भूतपूर्व विद्यार्थी, शिक्षक, पूर्व शिक्षक, विभिन्न विशिष्ट व्यक्तित्वहरु, सामाजिक संघ संस्थाहरुलाई कृषि विकास बैंक सिमरा, शाखामा खोलिएको अक्षय कोषको खाता नं.०५०७८०५६५९००९०१३ मा रकम जम्मा गरिदिन प्रअ पराजुलीले अपील गरेका छन् ।
वि.सं.२०८३ वैशाख ६ आइतवार २०:०७
















