अमेरिकी सेना, वरिष्ठ जर्नेल काठमाडौंमा
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:५१

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चाल्र्स ए फ्लीन बिहीबार नेपाल आइपुगेका छन् । उनी चारदिने भ्रमणका लागि भारत हुँदै काठमाडौं आइपुगेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरे । यहाँ रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च अधिकारीसित शिष्टाचार भेटवार्ता गर्नेछन् ।
उनको भ्रमणको मूल उद्देश्य दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको नेपाली सेनाले जनाएको छ । यस भ्रमणलाई नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सवका अवसरमा दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ ।
फ्लीनले शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनलाई ‘गार्ड अफ अनर’ दिइनेछ । उनलाई नेपाली सेनाको अप्रेसनसम्बन्धी कार्यक्रमबारे ब्रिफिङ पनि गरिनेछ ।
नेपाली सेनाका अनुसार शनिबार बिहान फ्लीन सगरमाथा आधारशिविरको भ्रमणमा जानेछन् । उनले आइतबार बिहान पाँचखालस्थित सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ । त्यहाँबाट फर्केर उनी काठमाडौंस्थित शिवपुरीमा रहेको सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा पुग्नेछन् ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १८:५१
















