जीतपुरमै बन्ने भयो १८ करोडको उपमहानरको प्रशासनिक भवन ! यस्तो हुने छ अत्याधुनिक भवन
भवन निर्माणको लागि जग खन्न सुरु
वि.सं.२०७९ कात्तिक ३० बुधवार १२:१९

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अत्याधुनिक प्रशासनिक भवन जीतपुरमै निर्माण थालिएको छ ।
७ तल्ले भवनमा भुँई तल्लामा पार्कि¨, एक तल्लामा क्यान्टिन र स्टोर, दुई तल्लामा न्यायिक समिति र स्वास्थ्य शाखा रहनेछ । त्यसैगरि तेस्रो तल्लामा इन्जिनियर/सब इन्जिनियर शाखा, चौथो तल्लामा नक्सा स्टोर र नापी शाखा, पाँचौं तल्लामा कृषि तथा शिक्षा शाखा, छैठौं तल्लामा तीन सय जना अट्ने बहुउपयोगी सभा रहनेछ ।
प्रत्येक तल्लामा ३७०.१६ वर्ग मिटर प्लिन्थ एरिया भएको ७ तल्ले भवन अपांग मैत्री हुनेछ । भवनमा ६ प्यासेन्जर लिफ्टको सुविधा समेत हुनेछ । भवनमा अपांग मैत्री शौचालय समेत व्यवस्था हुनेछ ।
अनुमानित लागत १८ करोड १३ लाख ७८ हजार ४ सय रहेको भवन निर्माण नेपाल सरकार स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रममार्फत बन्न लागेको जीतपुरसिमराका मेयर राजन पौडेलले जानकारी दिए ।
हाल जमिन तल्ला र पहिलो तल्ला निर्माण गरिने र बाकी कार्यसहित अहिले डेढ करोडको टेन्र्डर भएको छ । अहिले उपमहानगरपालिकाको भवन भएकै कम्पाउण्डभित्र भवन निर्माणको लागि जग खन्न सुरु भईसकेको छ । भवनको औपचारिक शिलान्यास हुन बाँकी छ ।

उपमहानगरको प्रशासनीक भवन सिमरामा सार्ने चर्चा चलेको बेलामा जीतपुरमै भवन निर्माणको काम अघि बढेपछि वास्तविकता बाहिर आएको छ ।
हेर्नुस् थ्रिडी नक्सा

वि.सं.२०७९ कात्तिक ३० बुधवार १२:१९
















