पचरौताकी उपप्रमुख खातुनको घरमा आक्रमण ! परिवारमाथि कुटपिट र लुटपाट
प्रहरीले वेवास्ता गर्दा घटना भएको एमाले नेता पौडेलको आरोप
वि.सं.२०८० भदौ ३ आइतवार ०९:४३

बारा–बाराको पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिवार ८ बजे राती एक समूहले आक्रमण गरेको छ ।
बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथी आक्रमण गरेका हुन् ।
आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाईते भएका छन् । घाईतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
घरमा बसिरहेका बेला पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसंगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो ।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको बताए ।
पटक–पटक आक्रमण
उपप्रमुखको घरमा पटक–पटक आक्रमण हुँदै आएको स्थानीयले बताएका छन् । उनी नेकपा (एमाले) बाट निर्वाचित भएकी हुन् । आक्रमणबारे प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको आरोप छ ।
यता नेकपा (एमाले) का नेता पुरुषोत्तम पौडेलले प्रहरीले वेवास्ता गर्दा उपमेयरको घरघेरा हाली राति सांघातिक आक्रमण र तोडफोड गर्नुका साथै लुटपाट भएको आरोप लगाए ।
जिल्लाका सुरक्षा निकायलाई पटक–पटक समस्या अवगत गराउँदा समेत वेवास्ता गरिएकोले आक्रमणकारी तत्वहरु उत्साहित भएर यस्तो जघन्य आक्रमण र लुटपाटमा गर्ने तह सम्म पुगेका नेता पौडेलले बताए ।
‘यस्ता दुस्कर्म गर्ने आततायी हरुलाई कडा भन्दा कडा कार्वाही गरिनु पर्दछ,’ नेता पौडेलले भने–‘अन्यथा यसले पचरौता नगरमा ठुलो समस्या ल्याउन सक्छ ।’
वि.सं.२०८० भदौ ३ आइतवार ०९:४३
















