बारागढीबाट देवघर जल अर्पण गर्न गएका तीर्थयात्री सवार बस दुर्घटना
३५ भन्दा बढी घाइते
वि.सं.२०८१ भदौ ९ आइतवार १४:५६

बारा-बारागढीबाट झारखण्डको देवघर जल अर्पण गर्न गएका तीर्थयात्री सवार बस दुर्घटनामा परेकाे छ ।
नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुर जिल्लामा आईतवार विहान दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् ।
बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटनामा परेको हो ।
तीव्र गतिमा आएको ट्रकले ना ७ ख ६४४६ नम्बरकाे बसलाई पछाडिबाट ठक्कर दिँदा बस पल्टिएकाे स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घाइतेहरूलाई उपचारका लागि मुसरीघरारी अस्पताल र सदर अस्पतालमा भर्ना गरिएको छ । बसमा जम्मा ४३ यात्रु सवार थिए । समस्तीपुर प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरू बाराको बारागढी गाउँपालिका ३ स्थित मूर्ति टोलका हुन् ।
बारागढी गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालले नेपाली तीर्थयात्री दुर्घटनामा परेको खबर आएको बताए । दुर्घटनाको खबरपछि बैठक बसेर अवस्थ बुझ्न भारत जाने निर्णय भएकाे जानकारी दिए ।
वि.सं.२०८१ भदौ ९ आइतवार १४:५६

















