कक्षा अनुमति नभएका विद्यालयमा भर्ना नगर्न अभिभावकलाई उपमहानगरको पुन: आग्रह
वि.सं.२०८२ असार १३ शुक्रवार १७:०४

बारा-जितपुरसिमरा उपमहानगरपालिका भित्र सञ्चालित संस्थागत (बोर्डिङ) विद्यालयहरुले तोकिएको कक्षा अनुमति भन्दा माथिल्लो कक्षा सञ्चालन गरी विद्यार्थी भर्ना गरेको पाइएको छ ।
यस सम्बन्धमा उपमहानगरपालिकाले मिति २०८१ साल चैत्र २८ गते सार्वजनिक सूचना प्रकाशित गर्दै प्रत्येक विद्यालयलाई तोकिएको कक्षा सीमाभित्र मात्र भर्ना तथा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो ।
तर उपमहानगरपालिकामा प्राप्त जानकारी अनुसार केही विद्यालयहरुले स्वीकृत कक्षा भन्दा माथिल्लो कक्षामा समेत विद्यार्थी भर्ना गरेको पाइएपछि मेयर राजन पाैडेलले अभिभावकलाई अपील गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रकाशित सूचनासहित मेयर पाैडेलले केही विद्यालयहरुले अर्कै अनुमति प्राप्त विद्यालयको नामबाट IEMIS (शैक्षिक सूचना व्यवस्थापन प्रणाली) मा विवरण प्रविष्ट गरी नियमन प्रक्रिया बटार्ने प्रयास गरेको पनि पत्ता लागेको उल्लेख गरेका छन् ।
`यसप्रकारको गतिविधि कानुन विपरीत हाे,´ मेयर पाैडेलले भने- यस्ता विद्यालयहरुलाई उपमहानगरपालिकाले छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

उपमहानगरपालिकाको अपिल:
विद्यार्थी भर्ना गर्नु अघि अभिभावकहरुलाई अनुमति प्राप्त कक्षा अनुसार मात्र भर्ना गर्न आग्रह गरिएको छ। कुनै विद्यालयले कक्षा अनुमति बिना नै भर्ना गरेको पाइएमा तुरुन्तै अन्य वैधानिक विद्यालयमा स्थानान्तरण गर्न अभिभावकहरुलाई अनुरोध गरिएको छ।


विद्यालयहरुले पालना गर्नुपर्ने कक्षा अनुमति सूची
उपमहानगरपालिकाले स्पष्ट रूपमा सार्वजनिक गरिसकेको छ। अतः अभिभावकहरुले गम्भीरतापूर्वक विद्यालयको अनुमति स्थिति हेरी मात्र बालबालिकाको भविष्य सुनिश्चित गर्न सचेत बन्न अपिल गरिएको छ।
वि.सं.२०८२ असार १३ शुक्रवार १७:०४
















