शिक्षक महासंघको आन्दोलनको घोषणा, भदौ दोस्रो साताबाट चरणबद्ध कार्यक्रम सुरु
वि.सं.२०८२ साउन २२ बिहीवार १७:५०

काठमाडौं-नेपाल शिक्षक महासंघले सरकारलाई दिएको समयसीमा सकिएसँगै भदौ दोस्रो सातादेखि आन्दोलनमा उत्रिने घोषणा गरेको छ।
बिहीबार बसेको महासंघको बैठकले विद्यालय शिक्षा ऐन समयमा जारी नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उल्लेख गर्दै अब बाध्य भएर आन्दोलनमा जान लागेको बताए।
“समयमै शिक्षा ऐन आउँछ भन्ने आशा गरेका थियौं। तर, सरकार गम्भीर नदेखिएकोले हामी आन्दोलनमा जान बाध्य भयौं,” — सुवेदी
आन्दोलनको तयारी यसरी:
आन्दोलनको खाका आन्दोलन परिचालन समितिले तयार गर्नेछ।
भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाइएको छ।
उक्त बैठकबाट आन्दोलनका कार्यक्रम पारित गरिनेछ।
महासंघका मुख्य गुनासा:
– सरकारले शिक्षकसँग भएका अघिल्ला सहमतिहरूको कार्यान्वयन नगरेको।
– विद्यालय शिक्षा ऐन आउन ढिलाइ हुँदा शिक्षक, कर्मचारी र विद्यालयहरू अन्योलमा।
– ऐनले शिक्षकको माग सम्बोधन नगर्ने संकेत देखिएको।
यता संसद समितिको बैठकमा के भयो?
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज पनि बसेको छ।
बैठकले केही निर्णयहरू यसप्रकार पारित गरेको छ:
१. महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता निलम्बन हुने।
२. शिक्षक बढुवा अब तीन आधारमा:
– आन्तरिक प्रतियोगिता
– जेष्ठता
– कार्यसम्पादन/कार्य क्षमताको मूल्याङ्कन
३. कार्यसम्पादन मूल्याङ्कनको न्यूनतम अंक ८० मा झारिएको।
नेपाल शिक्षक महासंघले गत २० चैतदेखि २९ दिनसम्म लामो आन्दोलन गरेको थियो।
त्यसपछि सरकारले शिक्षा ऐन ल्याउने सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेपछि महासंघ फेरि आन्दोलनको तयारीमा लागेको हो।
वि.सं.२०८२ साउन २२ बिहीवार १७:५०
















