जनकपुरधाममा पत्रकारमाथि आक्रमण, महासचिवको खुट्टा भाँचियो
वि.सं.२०८२ साउन २७ मंगलवार १९:२५

बारा-धनुषास्थित नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल संरक्षण गर्न घेराबारा गर्न खोज्ने क्रममा भएको आक्रमणमा दुई पत्रकार घाइते भएका छन्।
महासंघ केन्द्रीय समितिका अनुसार जनकपुरधाम उपमहानगरपालिका–स्थित श्रीराम मन्दिर गुठीको जग्गा मधेस प्रदेश समितिले २० वर्षका लागि लिजमा लिएको हो। तर नेपाल बार एसोसिएसन धनुषाले आफूहरूको हक लाग्ने भन्दै उक्त जग्गा कब्जाको प्रयास गरेको महासंघको आरोप छ।
महासंघका अनुसार साउन २७ गते प्रदेश समितिले जग्गा संरक्षणका लागि तारले घेराबार गरिरहेका बेला बारका जिल्ला अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो। आक्रमणमा मधेस प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकर साहको टाउकोमा गम्भीर चोट लागेको छ।
महासंघले घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन, आक्रमणमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्तो घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा उद्धृत गरिएको अनुसार, आक्रमणकारीहरूले ‘अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौं त्यही हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।

वि.सं.२०८२ साउन २७ मंगलवार १९:२५
















