skip this farak Kura Pravakar

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख चन्द्रकुवेर खापुङलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ।

आज (भदौ १७) बसेको मन्त्रिपरिषद् बैठकले वरियताका आधारमा खापुङलाई ३२औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

खापुङको कार्यकाल भने ३० वर्षे सेवाअवधिका कारण ६९ दिन मात्र रहनेछ। उनी आगामी कात्तिक २६ गते राति १२ बजेदेखि अवकाश पाउनेछन्।

प्रहरी सेवामा इमान्दार अधिकृतका रूपमा चिनिएका खापुङले यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए भने वरिष्ठ प्रहरी अधीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी पनि वहन गरेका थिए।

खापुङको नियुक्तिसँगै हालका प्रहरी महानिरीक्षक दिपक थापा आगामी भदौ १८ गते अवकाशमा जाने भएका छन्। उनीसँगै एआईजी सुदिप गिरी, टेक तामाङ र कृष्णहरि शर्मा पोखरेल पनि सेवाअवधि पूरा गरी निवृत्त हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि ४ दिने चीन भ्रमणमा प्रस्थान गर्न लागेका कारण मन्त्रिपरिषद्ले आजै नयाँ आईजीपीको निर्णय गरेको हो।

खापुङको अवकाशपछि पुनः नयाँ महानिरीक्षक नियुक्त गर्नुपर्नेछ। हाल एआईजी दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम साहबीच आगामी आईजीपी बन्ने प्रतिस्पर्धा हुने देखिन्छ।

nijgadh-supermart-adz1200-630