केपी शर्मा ओली को स्पष्ट सन्देश– ‘म नेतृत्व छाड्दिनँ’
वि.सं.२०८३ जेठ ९ शनिवार १९:१८

नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले आफू कुनै पनि अवस्थामा नेतृत्वबाट पछि नहट्ने स्पष्ट संकेत दिएका छन्। बैठकमा उठेका विभिन्न धारणा सुनेपछि उनले आफूलाई नेतृत्व छाड्न सुझाव नदिन नेताहरूलाई चेतावनी शैलीमा जवाफ दिएका हुन्।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ओलीले, “मलाई सम्झाइरहनु पर्दैन, म नेतृत्व छाड्दिनँ,” भन्दै नेतृत्व हस्तान्तरणको बहसभन्दा पार्टी सुदृढीकरणमा केन्द्रित हुन आग्रह गरेका थिए। उनले कसैको दबाब वा सुझावका आधारमा नेतृत्व त्याग्ने अवस्था नरहेको पनि बताएका थिए।
शनिबार बसेको बैठकमा महासचिव शंकर पोखरेल ले भने पार्टी अहिलेको अवस्थामा अघि बढ्न नसक्ने भन्दै पुनर्गठनको आवश्यकता औंल्याएका थिए। उनका अनुसार संगठनलाई नयाँ ढंगले पुनर्संरचना गरेर मात्रै पार्टीलाई प्रभावकारी बनाइराख्न सकिने धारणा बैठकमा राखिएको थियो। यद्यपि उनले प्रत्यक्ष रूपमा राजीनामाको विषय भने नउठाएको बताइएको छ।
त्यसैगरी सचिव महेश बस्नेत ले संकटको अवस्थामा अध्यक्ष ओलीको राजीनामा माग गर्नु गैरजिम्मेवार र अनुचित हुने टिप्पणी गरेका थिए। उनले कठिन परिस्थितिमा नेतृत्व परिवर्तनको बहस गर्नु पार्टी हितविपरीत हुने धारणा राखेका थिए।
उपमहासचिव लेखराज भट्ट ले भने पुस्तान्तरणको विषय उठाउँदै ६० वर्षभन्दा माथिका नेताहरूले जिम्मेवारी हस्तान्तरण गरेर नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने प्रस्ताव राखेका थिए। उनले पार्टी पुनर्गठनमार्फत नयाँ ऊर्जा र नेतृत्व विकास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
शनिबारको बैठकमा नौ जना पदाधिकारीहरूले धारणा राखेका छन् भने बाँकी सचिवहरूले आइतबार बोल्ने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ। सचिवालय बैठक पुनः आइतबार बिहान अध्यक्ष ओली निवास गुण्डुमा बस्नेछ।
वि.सं.२०८३ जेठ ९ शनिवार १९:१८

















