संविधान अनुसार सबैलाई समानरुपमा काम गर्न दिनुपर्छ –मुख्यमन्त्री गिरी
वि.सं.२०७९ चैत ५ आइतवार १२:३३

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सङ्घीयताको सात वर्षको अनुभव उपलब्धिमूलक भएको बताएका छन् । मुख्यमन्त्री गिरीले प्राप्त उपलब्धिको संरक्षण गर्दै थप उपलब्धिका लागि प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, “यो सात वर्षमा गरेको अभ्यासको अनुभवले हामी यहाँसम्म आइपुग्यौँ । यी अनुभवका आधारमा गरेका उपलब्धिको संरक्षण र भएका कमीकमजोरीबाट सिक्ने कुरा यस बीचमा हुन गयो ।”
जनअपेक्षाअनुसार नागरिकको जीवनस्तर तुरुन्त परिर्वतन गर्न भने असहज भएको मुख्यमन्त्री गिरीको अनुभव छ । “तुरुन्तै परिणाम खोज्ने प्रवृत्तिले जनतामा निरासा पैदा भएको हो । व्यवस्था परिवर्तनका क्रममा बाँडिएको सस्तो नाराका कारण अहिले तुरुन्त उपलब्ध नहुँदा खेरी केही प्रचार व्यवस्थाको विरुद्धमा गएका छन्”, उन भने ।
प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन संविधानमा व्यवस्था गरिएका सबै अधिकार हस्तान्तरण हुनुपर्ने उनले बताएका छन् । त्यसका लागि सङ्घीय सरकारले निजामती कर्मचारी ऐन, प्रदेश प्रहरी ऐन र शिक्षा ऐन बनाउनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री गिरीले भने, “संविधानको अनुसूचीमा बाँडफाँट गरिएका अधिकारको टुङ्गो लागिसकेको छैन । एक वाक्यमा भन्दा अधिकार आफ्नो मुठीभित्र मात्र हैन, संविधानअनुसार सबैलाई समानरुपमा काम गर्न दिनुपर्छ, त्यतिगरे पुग्छ ।” साधन र स्रोतको यथोचित व्यवस्था नभएका कारण प्रदेश सरकारले गर्नसक्ने काम हुन नसकेको उनको गनुासो छ ।
वि.सं.२०७९ चैत ५ आइतवार १२:३३

















