जंगलको मौरी विद्यालय पसेपछि…
मौरीको टोकाईबाट घाईते विद्यार्थी उपचारपछि घर फर्किए
वि.सं.२०७८ चैत १ मंगलवार १९:२२

बारा । विद्यालयमा पढिरहेको अवस्थामा मौरीले टोकेर घाईते भई उपचाररत विद्यार्थी मंगलबार घर फर्किएका छन् ।
बाराको निजगढ नगरपालिका वडा नं.४ स्थित जनकल्याण आधारभुत बिद्यालयमा अध्ययरत बालबालिकाहरुलाई बिद्यालयमा मौरी पसेर अचानक टोक्न थाले पछि दर्जनौंभन्दा बढी विद्यार्थीहरू घाईते बनेका छन् । नर्सरी कक्षामा भर्ना गरिएका ३ देखि ५ वर्ष सम्मका साना बालबालिका सबै भन्दा बढी घाइते भएका थिए ।
गम्भिर घाईते ११ जना शिक्षक, विद्यार्थीलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिए । विद्यार्थी, शिक्षक र कर्मचारी गम्भीर समेत गरी १ सय ५० जना भन्दा बढीलाई मौरीले टोकेको र २५ जना विद्यार्थी गम्भीर घाइते बनेको हुन् ।
घाईते बिद्यार्थीहरुलाई निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा लगिएको थियो । स्वास्थ्य अवस्था सुधार भएका बिद्यार्थीहरुलाई अभिभावकहरुले सोमबार नै आफ्नों घर लगेको थिए ।
यसरी विद्यालयमा पस्यो मौरी
शौच गर्न बाहिर चौरमा निस्किएको बेला नर्सरी कक्षाकी एक जना छात्रालाई मौरीको घारले बिहान करिब ११ बजे टोक्न सुरु गरेको थियो । ती छात्रा रुँदै भित्र पसे पछि पिछा गर्दै आएका मौरीले सो कक्षा कोठामा रहेका र अन्य कक्षाका विद्यार्थी र शिक्षकलाई पनि टोकेको हो ।
कक्षा कोठामा रहेका साना विद्यार्थीलाई बचाउन जाने क्रममा आँफूलाई पनि मौरीले टोकेको विद्यालयकी शिक्षिका हेम कुमारी खड्काले बताईन् ।
जंगल छेउमा रहेको सो विद्यालयमा नजिकै रुखमा बसेको मौरी बिच्किएर विद्यार्थीलाई टोकेको हुन सक्ने शिक्षकहरुले अनुमान गरेका छन् । तर कहाँबाट कसरी आयो भन्ने बारेमा अझै यकिन भइनसकेको उनले बताए ।
ठूलो संख्यामा आएका मौरीले विद्यार्थीलाई अचानक टोक्न थाले पछि विद्यालयमा केही बेर भागदौड मच्चिएको थियो । घरघरबाट आएका अभिभावक र शिक्षकले उद्दार गरेर विद्यार्थीहरुलाई अस्पताल पु¥याएका हुन् ।
उपचार खर्च वडाले व्यहोर्ने
शिक्षक, विद्यार्थीको अवस्था बुझ्न निजगढ नगरपलिकाका प्रमुख सुरेश कुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने खनाल, वडा अध्यक्ष जयराम कुमर अस्पताल पुगेका थिए ।
मौरीको टोकाईबाट घाइते भएका बिद्यार्थी र शिक्षकहरुको सम्पुर्ण खर्च निजगढ वडा नं.४ को वडा कार्यालयले गर्ने अध्यक्ष जयराम कुमरले बताएका छन् ।
विद्यालय बन्द
मौरीको टोकाईबाट अधिकांश शिक्षक र विद्यार्थीहरुलाई घाइते भए पछि मंगलबार विद्यालय बन्द गरिएको छ । विद्यालयले एक सुचना जारी गर्दै विद्यालयको पठन–पाठन बन्द गरिएको जानकारी गराएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्यालले बुधबार विद्यालयका साना कक्षा बाहेककालागि विद्यालय सञ्चालन गर्ने जानकारी दिए । विहीबारबाट होली विदा हुदैछ ।
वि.सं.२०७८ चैत १ मंगलवार १९:२२
















