‘टुरिष्ट’ उम्मेदवारको ‘ट्याग’ मेटेर बारा–४ (क) मा ‘सेकेण्ड ब्यालेट’ युद्ध लड्दै अनिल श्रेष्ठ
यस्तो छ राजनीतिक यात्रा
वि.सं.२०७९ असोज ३१ सोमवार १६:२१

काठमाण्डौं– संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ‘जनयुद्ध’ मा बुलेट बोकेका क्षेत्रबहादुर श्रेष्ठ ‘अनिल’ दोस्रो पटक ब्यालेट युद्धमा होमिएका छन् ।
सत्तारुढ गठबन्धको साथ लिएर नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनिल बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवार छन् ।
माओवादीको जिल्ला अध्यक्ष समेत रहेका अनिल एक दशक अघि २०७० मा बारा क्षेत्र नं. ६ बाट संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । त्यो युद्ध जित्न नसकेका अनिल बुलेट युद्ध छाडेको १९ वर्षपछि दोस्रो पटक ब्यालेट युद्धको मोर्चामा पुनः होमिएका छन् ।

माओवादी शान्ति प्रकृया आएदेखि पर्सा जिल्लामा पार्टी नेतृत्वमा रहेका अनिललाई ब्यालेट युद्धको नयाँ मैदानका रुपमा बारा–६ मा पठाएपछि अन्यौलताको बीच नतिजा हात नपरेपनि मैदान छाडेनन् ।
टुरिष्ट उम्मेदवारको ट्याग भिरेर नयाँ परिवेशमा योद्धाका रुपमा अनिलले करिब १० वर्ष यहि मैदानमा खटिएर अहिले त्यो ट्याग मेट्न सफल भएका छन् । त्यहि भुगोलका जनताको दुख, सुखमा साथ दिएका अनिल सामाजिक, आर्थिक मुद्दासंगै पार्टी निर्माणमा खटिएका छन् ।
यस्तो छ राजनीतिक यात्रा
१८ वर्षको उमेरमा विद्यार्थी राजनीति सुरु गरेका अनिल २८ वर्षको उमेरमा २०५२ मा नेकपा (माओवादी) ले घोषणा गरेको जनयुद्धसंगै भूमिगत भएका थिए ।
२०४६ सालमा पर्साको ठोरीस्थित विजयबस्ती माध्यमिक विद्यालय र २०४७ मा ठाकुराम बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इकाई अध्यक्षका रुपमा विद्यार्थी राजनीति थालेका अनिल २०४९/५० सम्म आईपुग्दा अखिल क्रान्तिकारीको उपव्यूरो सचिव सम्म भए ।
विद्यार्थी राजनीतिसंगै पार्टीमा उनी २०४८ मै जोडिएका थिए । नेकपा एकता केन्द्रको पर्सा जिल्ला कमिटी सदस्य तथा खुलामोर्चा राष्ट्रिय जनमोर्चाको जिल्ला सचिव बनिसकेका थिए । २०५१ मा नेकपा (माओवादी) जिल्ला कमिटीमा काम गरेका उनी त्यसको एक वर्षमै नेकपा (माओवादी) ले घोषणा गरेको जनयुद्धसंगै भूमिगत भए ।

२०५३ देखि ०५८ सम्म नेकपा (माओवादी) बारा, पर्सा, रौतहट संयुक्त जिल्ला समितिको सचिव भएर काम गरेका अनिल जनमुक्ति सेनाका विभिन्न जिम्मेवारीमा पुगे ।
२०५८ मा पूर्वाञ्चल क्षेत्रिय जनमिलिसियाको कमिसारबाट जनमुक्ति सेनामा काम सुरु गरेका अनिल त्यसको एकवर्षमा जनमुक्ति सेनाको कम्पनी कमिसार हुदैँ २०६३ सम्म पूर्वमा परिचालित बटालियन कमिसारसम्म भए ।
जेल जीवन
नेता श्रेष्ठले एक वर्ष जेल जीवन विताएका छन् । १६ असोज २०६२ मा अनिल काठमाण्डौंको बानेश्वरबाट तत्कालिन शाही सेनाबाट गिहस्तार भएका थिए । नख्खु जेलमा अनिलले एक वर्ष कष्टपूर्ण जेल जीवन विताएका हुन् ।
वि.सं.२०७९ असोज ३१ सोमवार १६:२१


















