४ महिनापछि सरकारमा फर्किदै जनमत ! अनितादेवी बन्ने भईन् सामान्य प्रशासन मन्त्री
मन्त्री अमनलाल मोदी फिर्ता
वि.सं.२०८० साउन २९ सोमवार ०८:१३

काठमाडौं–डा.सीके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागि हुँदैछ । सरकारबाट बाहिरिएको ४ महिनापछि अहिले पुनः सरकारमा जान लागेको जनमतले मन्त्रीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनितादेवी साहको नाम बुझाईएको छ ।
जनमत सरकारमा सहभागि भएर पनि मन्त्रालयमा चित्त नबुझाएर फिर्ता भएको थियो । १० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।
११ पुसमा विना विभागीयमन्त्री बनेका अब्दुल खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले १७ चैत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्ता गठबन्धनमा सहमति भइसकेको छ । जनमत पार्टीले अनिताको नाम २६ असारमै बालुवाटारमा बुझाएकोमा भोलिपल्टै प्रधानमन्त्रीपत्नी सीताको निधन भएपछि उनी नियुक्त हुन सकिनन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खाली गरेर अनितालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । त्यसका लागि माओवादीको पदाधिकारी बैठकले आईतबार नै मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
वि.सं.२०८० साउन २९ सोमवार ०८:१३
















