skip this

आलोचनाको घेराबाट सरकारको एक्सन : मृतकको परिवारलाई १०–१० लाख राहतदेखि कारबार्हीसम्म

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न नदिएको भन्दै आन्दोलनरत दुई जनाको ज्यान गएपछि सरकार दबाबमा परेको छ ।

घटनामा अछामका वीरेन्द्र शाह र दैलेख सुजन रावतको मृत्यु भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकार र त्यसमा माओवादीकै नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय हाँकेका छन् । ‘जनयुद्ध दिवस’ विदा खारेज भएकै दिन ललितपुरमा प्रहरीसँगको झपडमा दुई जना युवाले ज्यान गुमाएपछि सरकार आलोचित भएको छ ।

माओवादीले सरकारमा बसेर युद्धको शैलि प्रर्दशन गरेको टिप्पणी भईरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनालाई गम्भिर रुपमा लिएका छन् । घटना भएको केहि घण्टाभित्रै ट्वीटरमार्फत दुःख व्यक्त गर्दै छानविन समिति गठन भएको जानकारी गराएका थिए ।

शनिबार बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षामा खटिएका अधिकारीहरूलाई बालुवाटार बोलाएर घटनाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत उपस्थित थिए ।

उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई बताएका छन् ।

प्रधानमन्त्रीले घटना आकस्मिक र दुःखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिए ।

दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठक बसको छ भने सरकारले राहतदेखि गृह मन्त्रालयले कारबाहीसम्मको निर्णय लिएको छ ।

राहत स्वरुप १०–१० लाख दिने

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक

सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले भनिन्–प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरिएको छ । यसका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई रकम निकासा हुनेछ ।

मन्त्री शर्माका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्रलाई सजग बनाउने निर्णय पनि भएको छ । यसका लागि छानबिन समितिको सुझावअनुसार अघि बढ्ने उनको भनाई थियो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ । गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा तानेको हो ।

शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट निर्णय भएको थियो ।

फिल्ड कमान्डर डीएसपी लम्साल निलम्बित

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र ललितपुरका एसएसपी शिद्धिबिक्रम शाह ।

बालकुमारीमा प्रदर्शनका क्रममा दुई जना युवकको ज्यान गएपछि गृह मन्त्रालयले घटनास्थलमा सुरक्षा कमान्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई निलम्बन गरेको छ ।

मन्त्रीका पीएसओ दनुवार निलम्बित

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने पनि मन्त्रालयले निर्णय गरेको हो ।

निर्देशकसुवेदीलाई निलम्बन

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको मन्त्रालयले जानकारी दिएको छ ।

विरोध प्रर्दशन

घटनालाई लिएर शुक्रबारबाटै आन्दोलन सुरु भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठनले शुक्रबार साँझ विरोध गरेको थियो ।

शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दलका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरसहित दैलेखमा पनि आन्दोलन गरिएको छ । ‘युवा विद्रोही’ समूह बनाएर सरकारविरुद्ध आन्दोलन भइरहेको हो ।

आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने

‘युवा विद्रोही’ समूहले आइतबार सुर्खेतमा सवारी साधन बन्द गर्ने घोषणा गरेको छ । समूहले आइतबार सुर्खेतमा सम्पूर्ण सरकारी सवारी साधनहरू दिनभर बन्द गर्ने र बाँकी अन्य निजी तथा सार्वजनिक यातायातका साधनहरू दिउँसो १२ बजेदेखि १ बजेसम्म बन्द गर्ने बताएको हो ।

nijgadh-supermart-adz1200-630