विशाल बद्रीनाथ मन्दिरको ब्रम्होत्सव तथा महायज्ञ समापनको चौथो दिनमै आयव्यय सार्वजनिक (भिडियोसहित)

वि.सं.२०८१ चैत ९ शनिवार १०:११

बारा–बाराको निजगढ नगरपालिका–४ पुरानोटोलस्थित विशाल बद्रीनाथ मन्दिरमा सञ्चालित ब्रम्होत्सव तथा महायज्ञ समापनको चौथो दिनमै आयव्यय सार्वजनिक गरिएको छ ।
फागुन २५ देखि चैत्र २ गतेसम्म महायज्ञ र चैत्र १ देखि ३ गतेसम्म मन्दिरको वार्षिकोत्सव (ब्रम्होत्सव) सञ्चालन भएको थियो ।
महायज्ञ मुल समारोह समितिले मन्दिर परिषरमा शुक्रबार पत्रकार सम्मेलन गरेर आयव्यय सार्वजनिक गरेको हो । समितिकी संयोजक अन्जु नेपालीले महायज्ञबाट १६ लाख ३३ हजार ७२ रुपैया दान संकलन भएको जानकारी दिईन् ।
महायज्ञ र तीन दिने ब्रम्होत्सवमा १० लाख ४ हजार ४ सय २९ रुपैया खर्च भएको छ । जसमा वार्षिक रुपमा आयोजना हुने ब्रम्होत्सवमा दुई लाख खर्च भएको छ ।
महायज्ञबाट बचत भएको ६ लाख २८ हजार ६ सय ४३ रुपैया अक्षयकोष स्थापना गर्ने जानकारी गराउँदै यज्ञमा दान गर्न छुटेका व्यक्ति तथा संघसंस्थालाई अक्षय कोषमा सहभागि हुन आह्वान गरिन् ।
महायज्ञमा १० हजार बढी दान गरेका दाताको नाम मन्दिर शिलालेखमा लेखिने भएको छ । मन्दिर स्थापनाकालदेखि विभिन्न सहयोग गरेका दाताको नाम समेत लेख्ने योजना रहेको र यो कार्य दुई महिनाभित्रै सम्पन्न गर्ने योजना रहेको जानकारी दिईएको छ ।
महायज्ञको खर्च व्यवस्थापनका लागि वडा कार्यालयबाट एक लाख, शौन्दर्यकरणका लागि दुई लाख, प्रदेश सांसद त्रिलोकी प्रसाद चौधरीबाट मन्दिर क्षेत्रको जग्गा संरक्षणका लागि ३० लाखको प्रतिवद्धता प्राप्त भएको संयोजक नेपालीले बताईन् ।
मन्दिर संरक्षण समितिका संयोजक रामचन्द्र बुढाथोकीले विगतमा भएका आम्दानी र खर्चबारेमा सार्वजनिक नहुदा विभिन्न गुनासो आएकाले यो पटक ४ दिनमै आयव्यय सार्वजनिक गरिएको बताए ।
मन्दिरका महन्त शुभाष बुढाथोकीले महायज्ञ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी दिनमा मन्दिरको सञ्चालनका लागि अक्षय कोषले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महायज्ञ सोचेको भन्दा धेरै सफल भएको बताए ।

वि.सं.२०८१ चैत ९ शनिवार १०:११