चट्याङ लागेर राैतहटमा खेतमा काम गरिरहेकाे तीन महिलाको मृत्यु
पीडित परिवारलाई सहयाेग गर्ने मेयरकाे प्रतिवद्वता
वि.सं.२०७९ भदौ १४ मंगलवार ११:०९

काठमाडौं- रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन ।
चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।
सहयाेगकाे प्रतिवद्वता
यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले जानकारी दिए ।
वि.सं.२०७९ भदौ १४ मंगलवार ११:०९

















