भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : सांसद रावल
वि.सं.२०७८ फागुन २९ आइतवार १३:५६

काठमाडाैं । नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लामा भारतले महाकाली नदीको बहाव फर्काएको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर नेकपा एमालेका भीम रावलले दार्चुलाको बंगाबगरमा एकतर्फी ढंगले डोजर चलाउँदा सरकार नबोल्नु आपत्तिको विषय भएको बताएका हुन् ।
नेकपा एमालेको विरोधका बाबजुद सभामुख अग्नि सापकोटाले एमाले सांसद भीम रावल र नेमकिपाका सांसद प्रेम सुवाललाई बोल्न समय दिएका थिए ।
‘महाकाली नदीमा भारत सरकारले एकतर्फी डोजर चलाएर नदीलाई नेपाली सीमामा चेपेर दार्चुला सदरमुकाम खतरामा पार्दा सरकार मौन छ,’ रावलले भने, ‘यसबारे गृहमन्त्री र परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्छ ।’
रावलले नेपालले जारी गरेको चुच्चे नक्शा सम्बन्धमा भारतसँग वार्ता भए नभएकोबारे जानकारी गराउन सभामुखको रुलिङ माग गरे ।
यस्तै सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन्।
यसअघि तटबन्ध बनाउने नाममा भारतले महाकाली नदीको बहाव परिवर्तन गरेको भन्दै स्थानीय तवरमा विरोध भएको छ ।
वि.सं.२०७८ फागुन २९ आइतवार १३:५६

















