साइबर ब्युरोको चेतावनी : युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं
प्रविधिको दुरुपयोग
वि.सं.२०७८ फागुन २० शुक्रवार १५:३२

काठमाडौं । युट्युब, टिकटकलगायत सामाजिक सञ्जालबाट भ्रामक सूचना प्रवाह गर्नेहरुलाई प्रहरीले कारबाही गर्ने भएको छ।
अभिनेता पल शाहविरुद्धको अभियोगमा यतिबेला युट्युब, टिकटक र सामाजिक सञ्जालहरुमा अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधि गर्नेहरुविरुद्ध सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो।
केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने काम भइरहेको छ,’ साइबर ब्युरोले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवै मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा प्रचलित कानुनबमोजिम कारवाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्युरो अनुरोध गर्दछ।’

वि.सं.२०७८ फागुन २० शुक्रवार १५:३२
















