skip this

निजगढका जनप्रतिनिधिको दशैं : रमाईलो गर्ने मन मारेर जनताको गुनासो सुन्दै

निजगढका जनप्रतिनिधिले कसरी मनाउँदैछन् दशैं ?

2.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपालीहरुको ठूलो चाड बडादसैँ घरघरमा भित्रिसकेको छ । दसैँमा प्रायः सबैको घरमा रमाइलो गर्ने, आफन्त भेला हुने, घुम्न जाने, साथीभाइबीच रमाइलो गर्ने चलन छ । तर बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिलाई यो सबै गर्ने सुविधा छैन । व्यक्तिगत रमाईलो भन्दा आफ्ना क्षेत्रका जनताका गुनासो सम्बोधन गर्नै भ्याईनभ्याई भएको छ ।

पहिलो पटक जनप्रतिनिधिमा निर्वाचित भएका जनप्रतिनिधि त झन रनभुल्लमा परेका छन् । अघिल्लो पटकमा खुलेर रमाईलो गरेका केहि जनप्रतिनिधिको जिम्मेवारीले नराम्ररी थिचिदाँ जनप्रतिनिधि भएर जिम्मेवारी निभाउन मन मार्नु पर्नेरहेछ भन्ने महसुस गरिरहेका छन् ।

फरक नेपालको दशैं विशेष कुराकानीमा बाराको निजगढका वडा अध्यक्षहरुले दशैं कसरी मनाईरहका छन् भन्ने विषयमा अनुभव सुनाएका छन् ।

कसले के गर्दैछन् ?

दशैं लक्षित गरेर जनप्रतिनिधिले के–के काम गरिरहेका छन् र उनीहरु कसरी दशैं मनाउँदैछन् भनेर हामीले बुझ्ने प्रयास गरेका छौं ।

परिवारसंग बसेर दशैं

बाराको निजगढ नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मङ्गले लोप्चन यो पटकको दशैं आर्थिक मन्दीको मारमा परेको बताउँछन् । सबैतिर आर्थिक समस्या परेको बेलामा तडक भडक भन्दा पनि गक्षअनुसार मनाउन सल्लाह दिन्छन् । उनले दशैंमा जाडरक्सी नै खानुपर्ने र भैझगडा नै गर्नुपर्ने विकृतीको रुपमा रहेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने धारणा राख्छन् ।

दशैंमा विशेष कार्यक्रम नराखिएको भन्दै अध्यक्ष लोप्चनले खेलकुद कार्यक्रम राख्दा विवाद सृजना हुने भएकाले त्यसलाई निरन्तरता दिन नसकेको गुनासो गरे । त्यसबाहेक अहिले वडामा सरसफाई कार्यक्रम गरिएको छ । वडा सचिव विरामी परेकाले स्टमेट गर्न नपाउँदा सडक बत्ती जडान गर्न नपाएको उल्लेख गर्दै उनले तिहारमा भिलिमिल पार्ने बताए ।

दशैंमा घरमा आफन्त पनि जम्मा भएका छन् । परिवारसंगै मिठोमसिनो खाएर दशैंलाई रमाईलो गरि मनाउने योजना रहेको अध्यक्ष लोप्चनले बताए ।

गाउँ नछाड्ने

निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हुन्, राजन श्रेष्ठ । उनी दशैं घरमै मनाउँदैछन् । यो पटक उनी गाउँ नछाड्ने योजनामा छन् । चाडबाड भनेर रमाईलो गर्ने भन्दा रमाईलोका कारण हुने समस्या समाधानतिर ध्यान दिनुपर्ने अवस्था आएको उनी बताउँछन् । व्यक्तिगत काम छाडेर सामाजिक काममा सक्रिय बनेका श्रेष्ठ विहानैदेखि झैझगडा मिलाउनदेखि वडामा देखिएका खानेपानी, बत्तीको समस्या समाधानमा जुटेका छन् ।

पोलपोलमा बत्ती जडान

निजगढ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हुन्, गोकुल तिमल्सिना । उनी जनप्रतिनिधि भएपछि दशैं लागेपनि जनताको घरमा पुगेर पीर, गुनासो सन्ने काम भईरहेको बताउँछन् । ‘विहानैदेखि फिल्डमै खटिएको छ,’ उनी भन्छन्–अहिले पोलपोलमा बत्ती हाल्दैछु ।’

जनप्रतिनिधि भएपछि पहिलो पटक साथीहरुसंग भेट्नुपर्छ भनेर फोन आएको छ उनलाई । साथीहरु गाँउ आएपछि भेटघाट गर्ने योजना बनेको छ उनको । उनी टिक थाप्न मामाघर भरतपुर र ससुराली हेटौंडा जाने योजनामा छ ।

विपन्न परिवारलाई कुखुरा बाड्दै

निजगढ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हुन्, बिसन सापकोटा । माओवादी जनयुद्धबाट खारिएका नेता उनी गठबन्धनबाट निर्वाचित एक मात्र माओवादीका वडा अध्यक्ष हुन् । दशैं योजनाबारे उनकै शब्दमा ः

जनप्रतिनिधि नहुदाँ दशैं मनाउन घरपरिवारलाई मात्र सोचिन्थ्यो । अहिले वडाकै अभिभावक भएको हिसावले वडाबासीको बारेमा सोचिने रहेछ । अहिले सर्वहारा वर्गका लागि विपन्नता भएकै कारणका दशैंमा मिठोमसिनो खान नपाउने अवस्थामा रहेकाहरुको विषयले धेरै चिन्तित बनाएको छ ।

दशैंमा विपन्न भएकाले पनि मिठोमसिनो खान पाउन भनेर वडाभित्रका १० घर परिवार पहिचान गर्दैछु । उनीहरुलाई घरमै एक छाक भएपनि मासु खान सकुन भनेर एक–एक वटा कुखुरा दिने लागेको छु । घरमा बनाएर खुवाउने नभएका दलित तथा विपन्नलाई घरमै बोलाएर खाना खुवाउने योजना छ ।
दशैं लक्षित गरेर उज्यालो कार्यक्रम सञ्चालन गरेको छु । वडाको माथ्लो भेगमा पोलमा बत्ती हालिसकिएको छ । अब पुरानो निजगढमा जडानको लागि काम अघि बढाउँदैछु ।

झैझगडाको झमेला

निजगढ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हुन्, सुर्यबहादुर थापा । उनी यो पटक आमाको निधनका कारण टिका लगाउने छैनन् । आफै टिका र रमाईलोमा सहभागि नभएपनि वडामा दशैंमा आउने समस्या समाधानका लागि लागि परिरहेको बताउँछन् ।

दशैं सुरु भएसंगै गाउँघरमा झैझगडा पनि सुरु भएको छ । त्यसले उनलाई पनि चिन्तित बनाएको छ । विहानैदेखि विवाद मिलाउन हुने छलफलमा सक्रिय हुनुपरेको छ उनलाई । जनधनको क्षति र गाउँनै अशान्त हुने अवस्था नआओस भनेर वडाबासीलाई शान्तिपूर्ण तरिकाले दशैं मनाउन आग्रह गर्छन ।

सडकको छारोले हैरान

निजगढ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुन्, घनश्याम तिमल्सिना । उनी दशैंलाई मौलिका पर्वमा लिन्छन् । जनप्रतिनिधिका रुपमा आएपछि दशैं हिजो र आजलाई तुलना गर्दा आकाश र जमिन फरक भेटाउँछन उनी ।

दशैंसंगै भित्रिएका विकृतिले उनी चिन्तित छन् । बाटोमा हिड्दा देखिएका बियरका बोत्तलले उनी अब यस्ता विकृति कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता लागेको बताउँछन् ।

उनी भन्छन्–‘धर्म संस्कृतीमा जर्गेना गर्नुपर्छ । अहिले म जिम्मेवारी ठाउँमा छु , कति गर्न सकिएला कनि नसकिएला । जसरी हामीले पूर्व जनप्रतिनिधिहरुसंग अपेक्षा राखेका थियौं । अहिले त्यहि ठाउँमा उभिएर हेर्दा सबै गर्न नसकिने रहेछ । गुनासो आउने रहेछ । जनताकोमा प्रत्यक्षमा पुग्नु पर्ने हुन्छ ।’

हाम्रो वडाको मुख्य समस्या अहिले सडकमा उड्ने छारो बनेको अध्यक्ष तिमल्सिनाले बताए । शहीद हिरालाल मार्ग पिच नहुदा समस्या भएको भन्दै छारो नियन्त्रण नहुदाँ स्थानीयलाई चाड नै खल्लो भएको अनुभव सुनाए । यसको नियन्त्रण कसरी गर्ने भनेर काम भईरहेको जानकारी दिए । दशैं लक्षित गरेर डेंगु नियन्त्रणका लागि सडक सरसफाई र सडकमा राखिएका निर्माण सामाग्री खाली गर्ने काम गरिएको उनले बताए ।

उनले दशैंमा हुने झैझगडा नहोस् भनेर कामना गरिरहेको भन्दै गाउाघरका भाईबहिनीले झगडा नगरि रमाईलो गरेर अनुशासित भएर चाडबाड मनाउन आग्रह गरे ।

टिका छैन

निजगढ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हुन्, टेकबहादुर लामा । उनी जनप्रतिनिधि भएपछि जिम्मेवारी महसुस गरेको बताउँछन् । दशैंमा अब रमाईलो हेर्न जान समेत अप्ठेरो महसुस भएको बताए । पहिला आफै रमाईलो हेर्न गएको ठाउँमा त्यसलाई रोक्ने भूमिकामा आफु पुगेको बताउँछन उनी ।

आफन्त वितेका कारण टिका लगाउन पाईएको छैन । दशैं लक्षित गरेर वडामा सरसफाई कार्यक्रम गरेको उनले जानकारी दिए । अझैं केहि ठाउँमा बाँकी रहेको उनले बताए । अन्धकार भएकाले चाडबाडमा हिडडुल गर्न गाहे भएको गुनासो आएपछि पोल पोलमा बत्ती जडान गरिएको अध्यक्ष लामाले बताए । उनले महानपर्वका रुपमा रहेको दशैंमा वडाबासीको सुख र शान्तीको शुभकामना गरेको बताए ।

परिवारलाई पनि समय दिनुपर्छ

निजगढ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हुन्, स्वर्ण लामा । उनी नगरकै कान्छा जनप्रतिनिधि पनि हुन् । उनी दशैंलाई परम्पराको निरन्तरताका रुपमा लिनुपर्ने धारणा राख्छन् । उनी भन्छन्–‘हामीले मान्दै आएका छौं । यसलाई निरन्तरता दिनुपर्छ । हाम्रो समुदायमा अफवाह फैलाईएको छ, दशै मान्न नहुने, रातो टिका लगाउन नहुने भन्ने खालको, हामी यस्ता अफवाहको पछाडी नलागि दशैं मनाउनुपर्छ ।’

जनप्रतिनिधिका रुपमा हामीले हाम्रो कतव्र्य निभाउनु पर्छ । जनताले म्याण्डेड दिएर पठाएका छन्, त्यसलाई इमान्दारितापूवर्क निभाउनु पर्छ । त्योसंगै हामीले हाम्रो परिवार र साथीभाईका लागि पनि चाडबाडको बेलामा समय दिनुपर्छ । समस्या आउँदा कतव्र्य निभाउनुपर्छ ।

बजेट विनियोजन नहुदाँ धेरै काम सुरुवात गर्न सकेका छैनौं । यसबीचमा हामीले सरसफाई सम्बन्धी काम गरेका छौं । नाला सफाई सकेका छौं । पोलमा बत्ती जडानका काम जनशक्तिको अभावले पुरा गर्न सकेनौं । बत्ती खरिद गरिसकेका छौं, दशैं लगत्तै यो काम पुरा गछौं ।

दशैंमा पनि स्वास्थ्य सेवा

निजगढ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष हुन्, रामचन्द्र कटुवाल
। उनको वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको उनी अध्यक्ष समेत हुन् । निजगढमा डेंगु र भाइरल ज्वरोका विरामी बढेपछि उनी चाडबाडलाई लक्षित गरेर निरन्तर स्वास्थ्य सेवा दिने अभियानमा जुटेका छन् ।

जनप्रतिनिधि नहुदा व्यक्तिगत जीवन भएपनि अब जनताको समस्या बुझ्दै हिड्नु पर्ने भूमिका पुगेको अध्यक्ष कटुवालको अनुभव छ । ‘जिम्मेवारीमा बसेका कारण पाएको जिम्मेवारी पुरा गर्न चाडबाड भनेर बस्न नमिल्ने रहेछ,’ अध्यक्ष कटुवाल भन्छन्–रमाईलो गर्ने विषय अब व्यक्तिगत रुपमा सिमित भएको छ ।

दशैंपूर्व नै वडामा अधिकांश गाउँमा सरसफाई गरिएको र पोलमा बत्ती जडान गर्ने कार्य गरिएको जानकारी उनले दिए । ‘चाडबाडमा अहिलेसम्म वडामा कुनै समस्या आएको छैन,’ उनले भने–नआओस, अप्रिय नहोस् भन्ने कामना छ ।

वडाको विभिन्न स्थानमा पिङ हाल्ने काम भएको र त्यसमा व्यक्तिगत रुपमा सहयोग गरेको जानकारी दिए ।

साघुँरो बाटो सफाई

निजगढ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हुन्, आशाकाजी श्रेष्ठ
। उनी जनप्रतिनिधिका रुपमा दशैंलाई हेर्दा पहिले भन्दा फरक रहेको अनुभव गर्छन । बजेट बिनियोजन, केहि गर्न पाए हुन्थ्यो भन्ने मनमा चिन्ता । कसैले केहि भनिहाल्छन् भन्नेछ । चाडबाडमा झैझगडाका घटना हुने गरेको । साथीभाईसंग रमाईलो गर्न नपाउने । टिका छैन, । शोकमै छौं । साँघुरो बाटोमा सुधार गरेका छौं ।

शान्तिपूर्ण दशैं

निजगढ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हुन्, सइया गुरो । उनी कछडिया समुदायका हुन् । व्यक्तिगत रुपमा दशैं नमनाएपनि उनको वडामा दशैं मनाउने समुदाय पनि छन् । वडामा शान्तिपूर्ण तरिकाबाट दशैं मनाईरहेको बताउँछन् । कुनै अप्रिय घटना भएको छैन ।

उनका अनुसार वडामा यस अवधिमा सरसफाई कार्यक्रम भएका छन् । डेंगु नियन्त्रण र चाडबाडलाई लक्षित गरेर समुदायलाई सहभागि गराएर सरसफाई कार्यक्रम गरिको छ । व्यक्तिगत रुपमा पिङ बनाउन सहयोग गरिएको छ ।

अस्पताल भर्ना

निजगढ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले अस्वस्थ छन् । एक सातादेखि उपचारत अध्यक्ष गोलेको थप उपचार चितवन मेडिकल कलेजमा सुरु भएको छ ।

रहर मारेर जनताको सेवा

निजगढ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सुर्य घलान पुनः निर्वाचित हुने निजगढका वडा अध्यक्ष हुन् । निजगढको दुर्गम र पर्यटकीय सम्भावना बोकेको वडाका रुपमा रहेको यहाँ भौतिक विकासले बामे सरेको छ । विगत ५ वर्षमा देखिने गरि विकास भएको यहाँको समृद्धिको जिम्मा पुनः घलानकै काँधमा आएको छ ।

उनी दशैंको बेलामा समेत जनताको दुखमा साथ दिईरहेका छन् । खानेपानी समस्या समाधानका लागि फिल्डमा खटिएको बताएका थिए । दशैं अवधिमा सडकदेखि फन पार्क र मन्दिर सरसफाई गरिएको उनले बताएका छन् ।

हजुरबुवाको निधनको शोकका कारण दशैं टिका नभएपनि दशैंमा रमाईलो गर्न मन उनलाई पनि लाग्छ । तर जनप्रतिनिधि भएकै कारण खुलेर रमाईलो गर्न अवसर नआउने उनको अनुभव छ । उनले भने–मन मारेर हिड्नु पर्छ ।

nijgadh-supermart-adz1200-630