त्यो दशैं : आर्मी क्वाटरमा दशैं, मामाघर जान पाईएन : गायिका देविका बन्दना

1.19K shares

दशैं मलाई असाध्यै मन पर्ने चाड हो । दशैंको सधैं प्रतिक्षामा हुन्छु म । आफन्तसंगको जमघट नै मुख्य विशेषता हो । त्यसमा अग्रजहरुको आर्शिवाद र यसका रमाईला पक्षले दशैं मलाई विशेष लाग्छ ।

आर्मी क्वाटरमा दशैं

मेरो बाल्यकालको दशैं भारतमा बित्यो । बुवा इन्डियन आर्मी भएका कारण हामी आर्मी क्वाटरमा बस्थ्यौं । क्वाटरमा पनि त्यहाँ पनि दशैं विशेष महत्वले मनाएको मलाई याद छ । त्यहाँ दुर्गा मन्दिर स्थापना गरिएको हुन्थ्यो । नौं दिननै विशेष पुजा आरधना, भजनकृतन चल्थ्यो । हामी सधैं जान्थ्यौं ।

भाई र मेरो एउटै कपडा

दशैंमा बुवाआमाले हामीलाई एउटै कपडाबाट सिलाएको लुगा दिनुहुन्थ्यो । एउटै कपडाको मलाई फ्रक र भाईलाई सर्ट । अलि बुझ्ने भएपछि मलाई भाई र मेरो एउटै कपडा भएको मन नपरेपछि आफ्नो लागि छुट्टै कपडा चाहियो भनेपछि छुट्टाछुट्टै कपडा व्यवस्था हुन थाल्यो । नयाँ कपडा लगाएर म आफुलाई चिटिक्क परेको अनुभव हुन्थ्यो । अरुको कपडा कस्तो होला भन्ने जिज्ञासा हुन्थ्यो । साथीहरुको भन्दा आफ्नो विशेष लाग्थ्यो र खुसी हुन्थ्येँ ।

गायिका देविका बन्दना दशैंकाे टीका थप्दै ।

आर्मीको ब्यारेककै मामा

मेरो मामाघर धरान हो । हामीले सानोमा कहिल्यै मामाघर गएर दशैंको टीका लगाएनौं । हामीले आर्मी क्वाटरमै मामाहरु बनाएका थियौं । उहाँहरुको हातबाट टीका लगाएका थियौं । त्यहिँ अन्य मान्यजनहरु पनि हुन्थ्ये । उहाँहरुको हातबाट टीका लगाउने र दक्षिणा पाउँथ्यौं । दक्षिणा कति आयो भनेर हत्तनपत्त पैसा गन्न थाल्ने । टीकाभन्दा दक्षिणाकै चासो हुने सानोमा त ।

उमेर बढ्दै जाँदा हामी नेपाल फर्कियौं । दशैंमा नेपालमा त झन धेरै रमाईलो हुने । पिङ खेल्न, डुल्न, घुम्म, टीका लगाउन सबै खुलेर गर्न पाएजस्तो अनुभुति हुने रहेछ ।

पछिल्ला वर्षहरुमा हाम्रो मुलथलो बुटवलमा दशैं मनाउँदै आएका छौं । यो वर्ष हामीले काठमाण्डौंमा दशैं मनायौं । भाउजु राजकुमारी सिंह र श्रीमान् महेशमान सिंह, दिदी उमा श्रेष्ठ र भिनाजु डा. मनहरलाल श्रेष्ठको हातबाट उत्तम साईटमा दशैंको टिका तथा आर्शिवाद ग्रहण गरेँ ।

(लोकप्रिय गायिका देविका बन्दनासंग फरक नेपालका सहसम्पादक महेश्वर अधिकारीले गरेको कुराकानीमा आधारित)