बारा जिल्लामा सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन हुने
वि.सं.२०८२ साउन २२ बिहीवार ०९:५७

बारा–बारा जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका सबै सरकारी तथा सार्वजनिक जग्गाको विवरण संकलन गर्ने प्रक्रिया थालेको छ। उक्त कार्य मुलुकी देवानी संहिता २०७४ को दफा ३०२ को उपधारा २, ३ र ४ अनुसार अघि बढाइएको हो।
जिल्ला प्रशासन कार्यालय, बाराले साउन २१ गते एक पत्रमार्फत भूमिसुधार तथा मालपोत कार्यालय कलैया, मालपोत कार्यालय सिमरा र सिम्रौनगढलाई आफ्ना कार्यक्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गाको कित्ता नम्बर, क्षेत्रफल तथा हालको अवस्थासहितको विवरण यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ।
पत्रमा भनिएको छ, “उक्त विवरण जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध गरिन्छ।” यस कार्यका लागि नापी कार्यालयहरू — कलैया, सिमरा र सिम्रौनगढ — लाई समेत वोधार्थ पठाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छत्रिरमण भट्टराईले हस्ताक्षर गरेको उक्त पत्रमा स्थानीय तहहरूलाई समेत आवश्यक सहयोग र सहजीकरणका लागि आग्रह गरिएको छ।
यस अभियानले जिल्लाभित्र रहेका अतिक्रमणमा परेका वा व्यवस्थापन आवश्यक रहेका सरकारी तथा सार्वजनिक जग्गाको यथार्थ स्थिति उजागर गर्ने विश्वास गरिएको छ। साथै यसले स्थानीय शासनमा पारदर्शिता, सुशासन र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाइएको छ।
वि.सं.२०८२ साउन २२ बिहीवार ०९:५७
















