देउवा र मोदीबाट रेल सेवा उद्घाटन, रेल हेर्न जनकपुर स्टेशनमा मानवसागर (भिडियाेसहित)
वि.सं.२०७८ चैत १९ शनिवार १८:०९

काठमाडौं । लामो समयको प्रतिक्षापछि शनिवार दिउँसो एक बजे जयनगरबाट कुर्थाको लागि हिडेको रेल हेर्न जनकपुर स्टेशनमा मानवसागर नै ओर्लिएको छ । नेपाल र भारतका प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीले नेपाली समय दिउसो एकबजे हरियो झण्डा देखाएपछि जयनगरबाट कुर्थाको लागि रेल हिँडेको भिडियो देखेपछि सर्वधारण स्टेशनतिर लागेका थिए ।
जनकपुरको कुनाकाप्चाबाट आएका विद्यार्थी, महिला, बालबालिका सबै अहिले रेल्वे स्टेशनमै जम्मा भएका छन् । एकैपटक धेरै मानिस स्टेशनमा जम्मा भएपछि स्थानीय सुरक्षाकर्मीलाई समेत उनीहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।
प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी उनीहरु कोचिएर भएपनि रेल स्टेशनमै उभिएका छन् । स्टेशनमा उभिएका सबैको ध्यान पूर्व दिशामै छ । किनभने रेल पूर्व दिशाबाट नै जनकपुरमा भित्रिनेछ । जनकपुरकी सकुन्तालादेवी साहले दिउँसो एक बजे देखीनै गाउँलेहरुको साथमा स्टेशनमा बसेको बताइन् ।
जयनगरबाट छुटेको रेलमै चढेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय निमित्त सचिव केशवकुमार शर्मा, मधेश प्रदेशका प्रमुख कृष्णबहादुर राउत, काठमाण्डौंस्थित भारतीय दूतावासका प्रथम सेक्रेटरी करुण वंशल, भारतीय दूतावास बीरगंजका काउन्सील जेनरल नितेशकुमार लगायतका अतिथि कुर्था पुग्ने कार्यक्रम छ ।
कुर्थाबाट पुनः जनकपुर रेल फर्किएपछि मात्र जनकपुर स्टेशनमा औपचारिक कार्यक्रम सुरु हुने नेपाल रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिए । यसअघि नै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा, अर्थ मन्त्रालयका उपसचिव गगन बहादुर बिके, रेल विभागका ईन्जिनियर विनोद ओझा सहितको टोली भारतिय अधिकारीहरुको स्वागतमा शनिवार बिहानै जयनगर प्रस्थान गरेको नेपाल रेल्वे कम्पनीका प्रशासकीय अधिकृत तुलाबहादुर डाँगी जानकारी दिए । मन्त्री, मुख्यमन्त्री सहितका अतिथिहरु पनि अहिले रेलकै प्रतिक्षमा छन् ।
नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा दिल्लीको हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जयनगरबाट रेल गुडेको थियो ।
भिडियाे
वि.सं.२०७८ चैत १९ शनिवार १८:०९
















