लुटिएको सुनको पैसाले किनेको जग्गामा विवाद हुँदा पत्नीको समेत योजनामा नेपालमा ल्याएर हत्या
अजितकै मोटरसाईकलमा सवार थिए सुटर सुजित

वि.सं.२०८० असोज १४ आइतवार १७:४७

बारा–९ असोजमा बाराको पचरौता–६ लक्ष्मिनियास्थित पोखरी नजिक हत्या भएका भारतीय युवकको हत्या उनको पत्नी समेतको संलग्नतामा साथीहरुले मिलेर गरेको खुलेको छ ।
भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहिया गाउका २२ वर्षिय अजित कुमार सिंहको नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर भित्र गोली हानी हत्या भएको थियो ।
लुटिएको सुनको पैसाले किनेको जग्गाको हिस्सामा विवाद हुँदा पत्नीको समते संलग्नतामा नेपालमा ल्याएर हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ । बारा प्रहरीले हत्यामा सम्लग्न तीन जनालाई पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले करिव तीन वर्ष अगाडि भारतको घोडासहनमा सुन लुटपाट गरेका थिए । लुटेको सुनबाट मृतक सिंहलाई ८ लाख दिने भनी बताएको र सोहि रकम एकमुष्ट रुपमा भारतको छौडादानो भन्ने ठाउँमा जग्गा प्लोटिङमा लगानी गरेका थिए । जग्गाको हिस्साको विषयमा उनीहरु बिच विवाद उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
ग्याङ लिडर बन्न नयाँ सदस्य थप्ने र पुरानालाई सिध्याउने नीति अनुसार उनीहरुले अजित कुमार सिंहलाई नेपालमा ल्याएर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । अजितको हत्यामा उनकी पत्नी सोनम सहनी सिंहको समेत संलग्नता देखिएको छ । उनको सुजित कुमार सिंहस“ग अनैतिक सम्बन्ध रहेकाले अजितको हत्या गर्न सोनमले रेक्की गर्ने र सूचना आदनप्रदान गर्ने भूमिका खेलेकी थिईन् ।
हत्याका कसको के भूमिका ?
प्रहरीले दिएको जानकारी अनुसार अजितको हत्यामा संलग्नै सबै उनकै गाउँका हुन् । उनलाई २५ वर्षिय सुजित कुमार सिंहले गोली प्रहार गरेका थिए । उनी अजितकै ग्याङमा संलग्न भई विभिन्न अपराधिक घटनामा संलग्न भएका थिए । हत्या पूर्वको सिसीटिभी फुटेजमा अजितले चलाएको मोटरसाईकलमा सुजित सवार थिए ।
त्यसैगरि २४ वर्षिय चन्चल पाण्डे, २२ वर्षिय मनिष कुमार सहनी, २० वर्षिय कामेश्वर सहनी मोटरसाईकलमा बसेर स्कटिङ गर्ने भूमिकामा थिए । मनिष, रुपेश र चन्चल एउटै मोटरसाईकलमा सवार थिए ।
पत्नी सोनम र २० वर्षिय रञ्जीत मुखिया घटनास्थल बाहिर नै बसी सूचना आदनप्रदान र घटना व्यवस्थापन र को कार्यमा संलग्न रहेका थिए ।
प्रहरीले घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरेको थियो ।

वि.सं.२०८० असोज १४ आइतवार १७:४७